राजनीति

ओली सरकारको मन्त्री बन्दिन भनेपछि सर्बसाधारणले भने, ‘विश्वप्रकाश पछिल्लो पुस्ताका गणेशमान सिंह हुन्’

२७ असार, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री नबन्ने बताएका छन् ।
उनले आज झापाको एक कार्यक्रममा बोल्दै सबैले मन्त्री बन्ने भन्दा प्रतिपक्षलाई बलियो बनाउनेतिर लाग्नुपर्ने विचार ब्यक्त गर्दै आफु अब बन्ने सरकारमा सहभागी हुनु ठीक नहुने बताए ।
महामन्त्री शर्माले काँग्रेसबाट सरकारमा को को जाने भन्ने टुंगो नलागिसकेको बताउँदै अर्का माहामन्त्री गगन कुमार थापा काँग्रेसबाट सरकारमा जाँदा राम्रो हुने बताए ।
झापा क्षेत्र नम्बर १ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ठूला दल मिलेर सरकार बनाउँदा प्रश्न उठ्ने भएकाले प्रतिपक्ष पनि बलियो बनाउनुपर्ने आवश्यक्ता रहेको उनले बताए ।
सरकारमा जान्न, मन्त्री बन्दिन भन्ने नेपाली काँग्रेसका श्रध्देय नेता गणेशमान पछि उनी नै पहिलो पदाधिकारी स्तरका नेता देखिएका छन् । यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमासमेत काँग्रेस सहभागी हुँदा आफु उक्त सरकारमा सहभागी नहुने बताएका थिए ।
यसअघिको काँग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा विजय भएका शर्माले मन्त्री नबन्ने भनेपछि राजनीतिक बृतमा उनलाई सामाजिक संजालमा सर्बसाधारणले पछिल्लो पुस्ताको गणेशमान सिंह हुन् भन्न थालेका छन् ।