शिक्षा

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी पत्नी गीता नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर

२७ असार, काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन्।

नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको दाबीसहित उनीविरुद्ध उजुरी परेको थियो। अख्तियारले २०७९ सालको असोज ७ गते गीताविरुद्ध विषेश अदालतमा मुद्दा दर्ता गरेको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार सोडारीलाई दोषी ठहर गर्दै ६ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको छ। विषेश अदालतका प्रवक्ता धन बहादुर कार्कीले गीता सोडारी दोषी ठहर भएको र उनलाई ६ महिना कैद र १० हजार जरिवाना गरिएको बताए। गीताविरुद्ध विषेश अदालतमा दर्ता भएको मुद्दामा कैद र जरिवाना माग दाबी गरिएको थियो।