राजनीति

आम कार्यकर्तालाई बाढीपहिरोमा जनतासँग संगै हुन देउवाको दिर्नेशन, थप क्षती हुन नदिन तिनै तहका सरकारलाई अपील

२८ असार, काठमाडौं । नेपाली काँग्रेसले नारायणगढ—मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेका दुबै बस त्रिशुली नदीमा आज बिहान खस्दा करीब ६ दर्जन भन्दा बढी यात्रुहरूको अवस्था अज्ञात रहेको घटना प्रति दुःख ब्यक्त गरेको छ ।

अविरल वर्षाका कारण देशका विभिन्न भू–भागमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न समेत सभापति देउवाले सरकारलाई आग्रह गरेका छन् ।

बाढी पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर यसको सामना गर्न आग्रह गर्दै तीन वटै तहका सरकारहरूलाई समन्वय र ब्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारीका साथ कार्य गर्न सभापति देउवाले अपील गरेका छन् ।

काँग्रेस मुख्यसचिव कृष्ण चन्द्र पौडेलले भनेका छन्, ‘स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको छ । पार्टीका साथीहरूलाई ब्यवस्थित ढंगले प्रभावकारी रुपमा कार्य गर्न आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा उहाँले अपील गर्नु भएको छ ।’