२ साउन, गुल्मी । गुल्मीमा अपाङ्ता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गर्न थालिएको छ । अपाङ्ता भएका धुर्कोट गाउँपालिका– १ स्थित नयाँगाउँका १७ वर्षीय अन्मुल घर्तीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्र्रसाद शर्माले उनकै घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयले पछिल्ले समय जिल्लामा अशक्त र अपाङ्ता भएका व्यक्तिलाई घरमै पुगेर सेवा प्रवाह गर्ने अभियान सञ्चालन गरिरहेको प्रजिअ शर्माले जानकारी दिए । “हामीले हरेक पालिकामा पुग्दा त्यहाँका जनप्रतिनिधिलाई त्यस्ता प्रकाकारका अशक्त र अपाङ्ता भएका व्यक्ति भएमा जानकारी गराउनु होला, हामी घरमै आएर सेवा प्रवाह गर्छौँ भनेका छौँ,” उनले भने ।
अपाङ्ता र अशक्त भएका व्यक्तिलाई नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालयसम्म आउन समस्या हुने र आर्थिक भार समेत थपिने भएकाले उनीहरुलाई कार्यालयबाट कर्मचारी घरमै पुगेर नागरिकता प्रदान गरिने व्यवस्था मिलाइएको प्रजिअ शर्माले बताए ।