३ असार, काठमाडौ । कविता सिर्जनाका हिसावले आफैमा जटिल विधा हो । कविता लेख्नु भनेर योजना बनाउँदैमा सिर्जना हुन सक्दैन, न त अभ्यास गर्दैमा मात्र पार लगाउन सकिन्छ । यसका लागि त कविमा मुड आउनु पर्दछ । कुन बेला कविता लेखनका लागि मुड चल्छ शायद औषत कवि मनहरुले चाल पनि पाउन सक्दैनन् ।
त्यसका पनि प्रसंग, सन्दर्भ, घटना र मानवीय भावनाले चेतन मनलाई जागृत बनाएको हुनु पर्दछ । त्यसैले कविहरु कविता सिर्जनाका लागि झरी, बतास, आँधी, तुफान, आगो, घाम, पानी र चराहरुको चिरीविरी एवं मृगहरुको नयन गतिलाई शुक्ष्म रुपमा नियालिरहेका हुन्छन् । यही मेसोमा कवि शशिनाथ मरासिनीले चरीको मधुर धूनलाई शुक्ष्म रुपमा आत्मबोध गरी चरीको गीत शीर्षकमा कविता सिर्जना गरेका छन् ।
चरीको गीत– कवि मरासिनीद्वारा रचना गरिएका कविताहरुको नवीनतम कविता सङ्गालो हो । यस सङगालोमा विभिन्न समयमा रचना गरिएका लामा–छोटा गरी ४० वटा कविताहरुलाई सङ्ग्रहीत गरिएको छ । जसमा प्रकृति, समाज, प्रेस, सदभाव, मानवीय समवेदना, राष्ट्रपे्रम, जीवन, दर्शन र अध्यात्मका विषयहरुलाई पंक्तिबद्ध ढंगले उजागर गरिएका छन् । प्रस्तुत कृतिको शुरुवातमै कवि मरासिनीले सम्बन्धलाई शीर्षक बनाएर राष्ट्रियता र राष्ट्रप्रेमसंग जोडेका छन् । कविकै शब्दमा भन्नुपर्दा–
तिम्रो र मेरो सम्बन्ध क्यान्भासले तानेको
अमूर्त पेन्टिङको रङ्गजस्तो
राष्ट्रियता र राष्ट्रप्रेमीको हृदयजस्तो……।
वास्तवमा सम्बन्धहरु भनेको हेर्दा अमूर्त हुन्छन् । तर, सम्बन्धको अपरिहार्यता र महत्ताको व्याख्या जति गरे पनि प्रर्याप्त हुँदैन । कतिपय मानवीय, प्रकृति, जीवन र जगतका सम्बन्धहरु विज्ञानको कुन रसायनले जोड्न सकिन्छ ? त्यो पनि फेला पार्न सकिदैन । यसका लागि हृदयभित्रको उर्जा प्रकटित हुनु पर्दछ । कवि मरासिनीले यो सम्बन्धको दार्शनिक पक्षलाई आफ्नो कवितामार्फत सरल रुपमा प्रस्तुत गरेका छन् ।
यसैगरी कवि मरासिनीले एकअर्को शीर्षकमा बालमनोविज्ञानलाई अत्यन्त मार्मिक र सटिक तरिकाले कवितामार्फत बोलेका छन् । बालबालिकाहरु स्वाभावले नै जिज्ञाशु हुने गर्दछ । हरेक सवालमा प्रश्नहरु गर्ने र त्यसको उत्तर खोज्ने प्रकतिका हुन्छन् । र, उत्तर खोज्नेक्रममा नयाँ नयाँ ज्ञान र सिप सिक्दै जान्छन । यही प्रसंगलाई कवितामार्फत यसरी प्रस्तुत गरिएको छः
हजुर आमाले भन्नु भयो
आँटीमा नजानु है
गुजी छ त्यहाँ
म कति दिन गइन आँटीमा
केही दिनपछि साहस गरे
मिठा बास्नाले तान्यो
आँटी मगमग थियो…।
कवि मरासिनीले प्रकृतिप्रतिको प्रेम र तथ्यलाई पनि कवितामार्फत मार्मिक ढंगले प्रस्तुत गरेका छन् । प्रकृतिलाई प्रकृतिको तहमा मात्र होइन, मानवसंग प्रकृतिको अन्तरसम्बन्धलाई जोडेर जीवनलाई परिभाषित गरेका छन् ।
सुन्दरता मुस्कुराउने छ
प्रेमको गति गुञ्जिरहने छ
हरौं त कति हतार छ
फुल्ने तरखारमा फूलहरुलाई
सुन्दर जीवनमा प्रेम
मुस्कुराउन बल गरिरहेछ…..।
चरीको गीत शीर्षकमा प्रकाशन गरिएको प्रस्तुत कविता सङ्ग्रह कवि मरासिनीको दोस्रो कृति हो । यसअघि उहाँको ‘नजुरेको धून’ २०६० सालमा प्रकाशित भएको थियो । मरासिनी लामो समयदेखि प्राध्यापन पेशामा आवद्ध रहँदै आएका छन् । उनी पेशाले पत्रकारिता तथा आमसंचार विषयका प्राध्यापक हुन् । उनको आबद्धता त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार केन्द्रीय विभागमा रहेको छ । यसैगरी कवि मरासिनीले कानुनी क्षेत्रमा पनि आफ्नो बलियो पहिचान स्थापित गरेका छन् ।
प्रस्तुत ‘चरीको गीत’ अक्षरधाम प्रकाशन प्रा.लि. प्रकाशन गरेको हो । जसको गत मंगलवार एक समारोहका बीच विमोचार गरिएको थियो । विमोचन कार्यक्रममा साहित्यकार डा. छायादत्त न्यौपानेले प्रस्तुत कृतिमार्फत कवि मरासिनीले जनजीवनदेखि पुराणसम्मका विषयलाई उजागर गरेको बताएका थिए । यसैगरी डा. न्यौपानेले ‘चरीको गीत’ले साहित्यिक भावनामार्फत जीवनमा गतिशील चेतना सम्प्रेषण गरेको बताएका थिए ।

