खेलकुद

दक्षिण एसियाली करातेमा नेपाललाई स्वर्ण

३ साउन, काठमाडौँ । भुटानको थिम्पूमा आजदेखि सुरु आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई आठ स्वर्ण प्राप्त भएको छ ।

प्रतियोगिताको पहिलो दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरु सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वर्णिम मानन्धर र महिला–२१ वर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेद रहे ।

एलिसाले सेमिफाइनलमा भुटान र फाइनलमा भारतलाई पराजित गरिन् भने स्वर्णिमले सेमिफाइनलमा श्रीलङ्का र फाइनलमा भारतलाई पराजित गरेका थिए ।

सन्जुले फाइनलमा भुटानलाई पराजित गरिन् भने रेहानले भारतलाई पराजित गरी नेपाललाई स्वर्ण पदक दिलाए । त्यसैगरी जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसँग पराजित हुन पुगे र जुनियरतर्फ महिला एकल कातामा फाइनलमा श्रीलङ्कासँग पराजित भई नेपालकी रेनिशा रिमालले रजत पदकमा चित्त बुझाइन ।

त्यसैगरी सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा स्वर्ण पदक हात पारेको नेपाल कराते महासङ्घका मिडिया संयोजक गजेन्द्रबहादुर खपाङ्गीले जानकारी गराए ।

यसअघि प्रतियोगिताको औपचारिक उद्घाटन भुटानका राजकुमार टासु जिगेलले एक विशेष समारोहका बीच गरेका थिए ।