४ साउन, मनाङ । हिमाली जिल्ला मनाङको एक मात्र स्थलमार्ग डुम्रे–बेँसीसहर–चामे सञ्चालनमा आएको छ । अविरल वर्षापछि असार १८ मा आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको हो ।
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले तिमाङ खोलामाथि २४ दिनपछि शुक्रबार नयाँ काठेपुल राखेपछि डुम्रे–बेँसीसहर–चामे सडक सञ्चालनमा आएको जानकारी दिए । उनका अनुसार काठेपुल निर्माण भएपछि सवारीसाधन सञ्चालनमा अएको हो । उनले भने, “तिमाङ खोलामा पानीको सतह कम हुनासाथ पर्खाल लगाएर काठेपुल निर्माण गरिएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजनाले यातायात सञ्चालनका लागि पूर्ण रुपमा सहयोग गरेको छ । मनाङको मेरुदण्डको सडक निर्माणका काम पनि यस योजनाले नै गरिरहेको छ । जसले गर्दा पनि योजनाले काम समयमा गरेको हुनसक्छ ।”
प्रजिअ लामिछानेले तिमाङ झरनाको मोटरेबल पुलमा पनि कल्भर्ट राखेर यातायात सञ्चालन भएको बताए । तिमाङ छहरा पनि गत असार १८ गते ग्रेग्यान तथा ढुङ्गा खसेर पुलमा क्षति पुर्याउँदा सञ्चालन आउन सकेको थिएन । यहाँ योजनाले नयाँ पुलका लागि पनि काम गर्ने जिम्मा पाइसकेको डुम्रे–बेँसीसहर–चामे योजनाका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए ।