५ साउन, तनहुँ । जिल्लाको व्यास नगरपालिका–५ ढोडेनीकी किसान कल्पना गौलीले ड्रागन फ्रुट सिउँडी फल बिक्रीबाट गत वर्ष १६ लाख आम्दानी गरेका छन् । नौ रोपनी क्षेत्रफलमा लगाइएका दुई हजार एक सय बिरुवाबाट उनले १६ लाख आम्दानी गरेका हुन्।
ड्रागन फ्रुटका दाना पाक्न थालेपछि टिप्न र बिक्री गर्न यो समयमा भ्याइनभ्याइ हुने गरेको किसान गौलीले बताए । ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी विसं २०७९ मा भारतको हैदराबादबाट ‘सी’ प्रजातिका बिरुवा ल्याएर खेती सुरु गरेको उनले जानकारी दिए ।
”मासिक रु २० हजार बुझाउने सम्झौता अनुसार २० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक रुपमा खेती गर्दै आएको छु”, गौलीले भने । अघिल्लो वर्ष १६ लाख बराबरको ड्रागन फ्रुट बिक्री गरेको जनाउँदै यस वर्ष फल राम्रो लागेकाले २० लाख बराबरको बिक्री हुने अपेक्षा गरेको छु ।”
“वैशाखदेखि ड्रागन फुल्न सुरु गर्छ, फूल फुलेको ६० दिनको अवधिमा पाक्छ र टिप्नलायक हुन्छ”, उनले भने, “असारदेखि मङ्सिर छ महिनासम्म फल टिप्न सकिन्छ ।” यसवर्ष पहिलो छिमालमा ३५, दोस्रो छिमालमा एक हजार र तेस्रो छिमालमा एक हजार किलोग्राम ड्रागन फ्रुट टिपिसकेको उनले जानकारी दिए । उनका अनुसार ड्रागन फ्रुट तेह्र छिमालसम्म टिप्न सकिन्छ ।
अधिकांशले फार्ममै आएर खरिद गरी लैजाने गरेका गौलीले बताए । बाँकी रहेका फल दमौलीका फलफूल र तरकारी व्यवसायीलाई बिक्री गर्ने गरेको उनले जानकारी दिए। “ड्रागन बिक्रीका लागि अन्यत्र लैजानु परेको छैन् । उत्पादित फल दमौलीमा नै खपत हुने गरेको छ”, उनले भने ।
गौलीका अनुसार फार्ममा दैनिक दुई जना कामदारले नियमित रोजगारी पाएका छन् । उत्पादित ड्रागन फ्रुट ग्रेडिङ गरेर प्रतिकिलोग्राम पाँचसयदेखि सात सयसम्म बिक्री गर्ने गरिएको उनले बताए ।