१२ साउन, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरू गरिएको सिँचाइ आयोजना निर्माणले पूर्णता पाएको छ ।
विसं २०७२ मा सुरू भएको गौराखोला सिँचाइ आयोजना विसं बजेट अभावमा र पहिरोका कारण अधुरै रहेको थियो । आर्थिक वर्ष २०८०÷८१ मा गण्डकी प्रदेश सरकारले रु २० लाख बजेट विनियोजन गरेपछि पन्थोकवासीको एक दशकदेखिको सपना पूरा भएको स्थानीय अगुवा दिलबहादुर पुनले बताए । “तत्कालीन जिल्ला विकास समितिले सुरू गरेको योजनाले निरन्तरता नपाएको र पहिरोले क्षति गरेपछि सात वर्षदेखि अलपत्र बनेको थियो,” पूर्ववडा सदस्यसमेत रहेका पुनले भने, “गत आवमा प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि सिँचाइ योजनालाई पूर्णता दिएका छौँ ।”
सात वर्षअघि १३ लाख खर्चेर जङ्गलेखोलाको मुहानदेखि करिब एक किलोमिटर दूरीमा पाइपलाइन बिछ्याइएको थियो । उपभोक्ता समितिका सचिव केमबहादुर मल्लले मुहानदेखि कुनेखर्कसम्म पाइप र ५२ मिटर पक्की नहर निर्माण गरेर पानी ल्याइएको जानकारी दिए । “मुहानदेखि कुनेखर्कसम्म दुई सय एमएमको पाइप जडान गर्ने र कुइनेखर्कदेखि पन्थोकसम्म पुरानो पाइपलाइन जडान गरेर पानी चलाएका हौँ,” उनले भने, “सिँचाइ अभावमा खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने र सिँचाइका लागि स्थानीयवासीबीच विवाद हुने समस्या हटेको छ ।”
खानेपानी सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीका सबइञ्जिनियर अन्जन खत्रीकानुसार यस योजनाबाट पन्थोकका करिब दुई सय परिवार लाभान्वित भएका छन् । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझाले गौराखोलालगायत म्याग्दीमा गत आर्थिक वर्षमा सम्पन्न भएका २१ वटा आयोजनामार्फत ८९ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको जानकारी दिए ।