१२ साउन, रौतहट । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताले यातायात सुविधाका हिसावले सुगम, समथर एवं उर्वरभूमि र मेहनती जनता भए पनि तराईका अन्य जिल्लाको तुलनामा रौतहट पछि परेको बताएका छन् ।
रौतहट दृष्टि साप्ताहिकको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले जनउत्तरदायी एवं इमानदार नेताको अभावमा रौतहट जिल्ला पछि परेको बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आर्थिक मन्दी देखिएको र त्यसको प्रभाव पत्रकारिता क्षेत्रमा पनि परेको उल्लेख गर्दै एमाले नेता गुप्ताले भने, “आर्थिक अभावका कारण आमसञ्चार क्षेत्र अस्तव्यस्त छ । देश र जनताको पक्षमा अहोरात्र खट्ने पत्रकारलाई राज्यका तर्फबाट आवश्यक सहयोग सम्मान प्रदान गर्नुपर्दछ । सञ्चार उद्योग र पत्रकारका पक्षमा सदैव आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दछु ।”
सो अवसरमा अग्रज पत्रकारद्वय सञ्जय साह ‘मित्र’ र श्रीमन नारायण मिश्रलाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।
रौतहट दृष्टि साप्ताहिकका प्रकाशक–सम्पादक शैलेन्द्र झाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, प्रेस चौतरी नेपाल, रौतहटका अध्यक्ष आदर्श उपाध्याय, समाजवादी प्रेस सङ्गठन नेपाल, रौतहट शाखाका प्रतिनिधि दिनेश सङ्गम, रेड टेलिभिजनका अध्यक्ष जयप्रकाश यादवलगायतले मन्तव्य व्यक्त गर्दै रौतहटको पत्रकारितामा रौतहट दृष्टि साप्ताहिकले पु¥याएको योगदानको चर्चा गरेका थिए ।