सुदूरपश्चिम

सिसीटिभी क्यामेरा बिग्रिँदा अपराध अनुसन्धानमा बाधा

१४ साउन, कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका क्षेत्रका बजारमा जडान गरिएका सिसीटिभी क्यामेरा बिग्रिँदा प्रहरीलाई अपराध अनुसन्धान गर्नमा समस्या हुन थालेको छ ।

नगरपालिकाको झलारी, वनसमिति, कलुवापुर लगायतका बजार क्षेत्रमा जडान गरिएका एक दर्जन बढी सिसीटिभी क्यामेरामध्ये तीन मात्रै सञ्चालनमा रहेका छन् । तीन वर्षअघि बजार क्षेत्रका मुख्य चोकमा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सिसीटिभी क्यामेरा जडान गरिएका थिए ।

मुख्य चोकका क्यामेरा नै बिग्रिएको अवस्थामा रहेका छन् । गत वर्ष नगरपालिकाले झलारी बजार क्षेत्रमा जडान गरेका सिसिटिभी क्यामेरासमेत बिग्रिएका छन् । प्रहरीलाई अपराध अनुसन्धानमा सहयोग पुर्याउन, चोरी लगायतका घटना नियन्त्रण गर्न, ट्राफिक समस्या समाधान गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सिसि क्यामेरा जडान गरिएका हुन् ।

बजार क्षेत्रका सिसीटिभी क्यामेरा बिग्रिएपछि प्रहरीले सवारी दुर्घटना तथा अन्य अपराधिक घटनाको अनुसन्धान गर्नका लागि बजार क्षेत्रका स्थानीय व्यापारीले पसल अगाडि जडान गरेका सिसिटिभी क्यामेराको सहयोग लिनुपर्ने बाध्यता सिर्जना भएको छ ।

आइतबार मात्रै झलारी बजार क्षेत्रमा नगरपालिकाको वडा नं ५ का अन्दाजी ४५ वर्षीय खडकबहादुर साउद सडक छेउ घाइते अवस्थामा फेला परे महाकाली सिँचाइ परियोजनाले निर्माण गरिरहेको नहरको निर्माणाधीन टर्सरीको सरियाले अनुहार छेडेर टाउकोमा पुगेको अवस्थामा उहाँ फेला पर्नुभयो । तत्कालै प्रहरीको सहयोगमा साउदलाई अस्पताल पुर्याइएको थियो ।