१४ साउन, तनहुँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालले एक वर्षको अवधिमा करिब एक लाख बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक वर्ष २०८०-८१ को अवधिमा ९८ हजार तीन सय ५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।
अस्पतालमा प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । अस्पतालमा तनहुँका अतिरिक्त छिमेकी लमजुङका बासिन्दाले स्वास्थ्य सेवा लिएको डा बरालको भनाइ छ ।
उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७-८० मा अस्पतालले ७३ हजार दुई सय ५३ लाई सेवा दिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८-७९ मा ६४ हजार पाँच सय ९४ लाई सेवा दिएको थियो ।
अस्पतालले सोही अवधिमा ३० हजार छ सय ५३ जनालाई प्रयोगशाला सेवा दिएको छ । त्यस्तै दुई हजार नौ सय ५९ जनालाई सर्जिकल सेवा प्रदान गरिएको बरालले जानकारी दिए । दुई सय ९८ जनालाई सामान्य प्रसुती सेवा र १९ जनालाई शल्यक्रिया प्रसूति सेवा दिइएको बरालको भनाइ छ । डा बरालले भने, “बढ्दो शहरीकरणसँगै अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ, हाल भइरहेकै जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ ।”
अस्पतालमा एक सय १५ जनाको जनशक्ति छ । अस्पतालमा ३१ डाक्टर, ३६ स्टाफ नर्स, छ प्रयोगशालाका कर्मचारी, सात प्रशासनका कर्मचारी, १३ अन्य प्रविधिक र २२ सहायक कार्यरत छन् ।