गण्डकी प्रदेश

अन्नपूर्णको ‘कृषि एम्बुलेन्स’

१४ साउन, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि उपजको ढुवानी र बजारीकरणका लागि कृषि एम्बुलेन्सको ब्यवस्था गरेको छ ।

सङ्घीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा ३६ लाख १२ हजारमा एम्बुलेन्स तयार पारेको हो । कृषि उपजको बिक्रीका लागि बजारसम्म पुर्‍याउन सहज होस् भनेर गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

“कृषि एम्बुलेन्स तयार भएर आइसकेको छ,” उनले भने “कार्यविधि बनाएर केही दिनभित्रमा सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।” उनका अनुसार एम्बुलेन्सका लागि गत आर्थिक वर्ष २०८०र८१ मा सङ्घीय सरकारबाट प्राप्त भएको १९ लाख ८० हजार र गाउँपालिकाको १७ लाख ३२ हजार खर्च भएको छ ।

२५ लाख ७० हजारमा खरिद गरिएको गाडीमा कुलिङ स्टिम प्रविधि र एसोसेरिट जडान गर्दा दश लाख ४२ हजार खर्च भएको प्रशासकीय अधिकृत सुवेदीले बताए । सिङ्गल क्यापको बोलेरो जिप खरिद गरी कृषि उपज सढ्नेगल्ने नहोस् भनेर ‘एसी’ समेत जडान गरिएको छ ।

किसानले उत्पादन गरेको दुध, ताजा तरकारी, आलु, सुन्तला लगायतका कृषि उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउन पालिकाले कृषि एम्बुलेन्सको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए ।

“गाउँपालिकाको दुर्गम भेगमा किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा त्यसै खेर जाने अवस्था छ,” उनले भने, “कृषि उपजको बजारीकरण गरी किसानलाई प्रोत्साहन र कृषि क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउन पालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेका हौँ ।”

कृषि एम्बुलेन्सले पालिकाका विभिन्न वडामा पुगेर किसानले उत्पादन गरेको कृषि उपजको ढुवानी गर्ने उनले बताए । किसानलाई सहज रूपमा तरकारी, फलफूल, दुध, माछा मासु तथा अन्य उपभोग्य सामग्री बिक्री गर्न र उपभोक्तालाई पनि सहुलियत दरमा खरिद गर्न सजिलो होस् भनेर कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको अध्यक्ष पुनले बताए ।