गण्डकी प्रदेश

अझै बनेन लेखनाथको बहुउद्देश्यीय ‘कभर्ड हल’

१४ साउन, गण्डकी । आठ वर्षअघि पोखराको लेखनाथ रङ्गशालामा निर्माण थालिएको बहुउद्देश्यीय ‘कभर्ड हल’ बीचमै अलपत्र परेको छ । तीन वर्षदेखि कभर्ड हल निर्माण ठप्प अवस्थामा छ । बनेका संरचना पनि जीर्ण बन्न थालेका छन् ।

पोखरा महानगरपालिका–२९ भण्डारढिकमा निर्माणाधीन उक्त कभर्ड हल बजेट अभावमा अलपत्र परेको हो । निर्माण समितिका अध्यक्ष सुवास खड्काले पछिल्ला दुई आवमा कभर्ड हललाई कतैबाट पनि बजेट नपरेको बताए । पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश छन् ।

“बजेट नभएका कारण कभर्ड हल निर्माण रोकिएको हो,” अध्यक्ष खड्काले भने । पोखरा महानगरसहित सङ्घ र प्रदेश सरकारबाट बजेट ल्याउन समितिले प्रयास गरेपनि सम्बन्धित निकायबाट सुनुवाई नभएको उनको भनाइ छ । अहिलेसम्म कभर्ड हलमा एक करोड दस लाख खर्च भइसकेको निर्माण समितिले जनाएको छ ।

आव २०७४-०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्टिएको ११ लाख बजेटबाट कभर्ड हलको निर्माण सुरु गरिएको थियो । त्यसयता राष्ट्रिय खेलकुद परिषद्को ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमको २५ लाख बजेट खर्च भइसकेको छ ।

उक्त बजेटबाट कभर्ड हलमा भुइँतलाको पिलर र गारो लगाउने काम भएको छ । “सबै संरचना तयार गर्न अझै तीन करोड जति बजेट लाग्छ”, अध्यक्ष खड्काले भने, “भलिबलदेखि मार्सल आर्टलसम्मका प्रायः सबै ‘इन्डोर’ खेललाई हुने गरी कभर्ड बनाउन लागिएको हो ।” कभर्ड हल नहुँदा खेलाडी खुला चौरमा खेल्न बाध्य छन् । प्रशिक्षक हेमन्त विकले सात वर्षदेखि खुला आकाशमुनि कराते सिकाउँदै आएको सुनाए ।

“घाँसे मैदानमा प्रशिक्षण चलाउनुपर्ने बाध्यता छ, कभर्ड हल छैन, बर्खामा ट्रयाक हिलाम्मे हुँदा खेलाडी दौडन पनि पाउँदैनन्”, विकले दुःखेसो पोखे, “रङ्गशाला मात्र भनेर के गर्ने खेल पूर्वाधार छैन ।” बहुउद्देशीय कभर्ड हल ४५ मिटर लामो र २६ मिटर चौडा हुने गरी निर्माण सुरू गरिएको थियो । सुरुमा तीन करोडको बजेट अनुमान गरिए पनि महँगीका कारण अब लागत पनि बढ्ने भएको छ ।