गण्डकी प्रदेश

पोखरामा गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ तरकारी

१५ साउन, कास्की । पोखरा महानगरपालिका–७ माछापुच्छ्रे टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख थिए। त्यहाँ उनी जस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो ।

कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी छाएको छ । फर्सीका मुन्टा, गोलभेँडा, करेलालगायत तरकारी हातमा लिएर आस्थाले भने, “पृथ्वीचोकतिर पुगेर तरकारी ल्याउने गरेका थियौँ, यसरी घर नजिकै छानीछानी ताजा तरकारी पाउँदा खुसी लागेको छ । यो बजार निरन्तर सञ्चालन भए अझ दैनिक ताजा तरकारी पाइथ्यो कि ?”

स्थानीय उत्पादन उपभोगलाई प्रवर्द्धनका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न स्थानमा किसान बजार सञ्चालनमा ल्याएको छ । महानगरले गाउँमा उत्पादन भएका कृषि उपज बजारसम्म ल्याउनका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कृषि एम्बुलेन्सले महानगरका ग्रामीण बस्तीमा उत्पादित तरकारी निःशुल्क रूपमा बजारमा बिक्री वितरणमा सहयोग पुगेको छ । गत वर्षदेखि महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो ।

कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्ने काम गरेको महानगर कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनका अनुसार पोखराका सात ठाउँमा सातामा एक दिन किसान बजार सञ्चालन हुने गरेकामा माग बढ्दै गएकाले केही वडामा सातामा दुई दिन बजार सञ्चालन हुने गरेको छ ।

ग्रामीण भेगका साना किसानले उत्पादन गरेको कृषि उपज सङ्कलनका लागि महानगरका २१ स्थानमा सङ्कलन केन्द्र स्थापना गरिएको र ती ठाउँमा एम्बुलेन्स पुगेर कृषि उपज बजारमा ल्याउने गरेको महाशाखा प्रमुख कडरियाले बताए ।