१५ साउन, भक्तपुर । मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितिया गुँलागा द्वितिया देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यसवर्ष वडा नं ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ ।
गाईजात्राको भोलिपल्टको रातिदेखि चार रात प्रदर्शन गरिने ऐतिहासिक एवम् धार्मिक महत्वको भैल प्याखँ २१ वर्षपछि ताहाननीबाट प्रदर्शन हुन लागेको हो ।
गुरु पूर्णिमादेखि प्याँख अर्थात नाचको प्रशिक्षण सुरु गरिएको छ । थिमि भैलः प्याखँमा न्हापाँ भैल अघिल्लो भैरव एक, लिपाँ भैल पछिल्लो भैरब एक, ज्यापुंगः एक, न्हापाँ दागीँ अघिल्लो दागीँ एक र लिपाँ दागीँ पछिल्लो दागीँ एक जना गरी कूल पाँच जना देवीदेवता रहन्छ ।
अशोक प्रजापतिले न्हापा भैलः, बालमुकुन्द प्रजापतिले लिपा भैलः, आयुष प्रजापतिले न्हापाँ दाँगी कुमारी, साहिल प्रजापतिले लिपा दाँगी महालक्ष्मी र ज्यापुंगचा हरिसिद्धिमा कृशल प्रजापतिले भूमिका निर्वाह गर्ने थिमि भैलः प्याखँ व्यवस्थापन समितिका उपाध्यक्ष बलराम प्रजापतिले जानकारी दिए ।
थिमिका जीवित साँस्कृतिक धरोहर साँस्कृतिक र परम्परागत प्याखँ एवम् वाद्यबादन गुरु श्रीगोपाल प्रजापतिको नेतृत्वमा गुरुहरु कृष्णबहादुर प्रजापति, बालकृष्ण प्रजापति, चन्द्रभक्त प्रजापति र प्रेमकृष्ण प्रजापतिले प्याखँको प्रशिक्षण गराइरहेका छ ।
त्यसैगरी बाद्यबादनतर्फ धाँ बाजा, भुस्या, मुवाली र पुँगा बजाउने वाद्यवादकहरु करिब तीन दर्जनको सङ्ख्यामा रहेका छन । यसका साथै प्याखँका कलाकारका सहयोगी समेत करिब ५० जनाको टोली भैल प्याखँमा सहभागी रहेको व्यवस्थापन समितिका उपाध्यक्ष प्रजापतिले बताए ।
किंबदन्ती अनुसार परापूर्वकालमा थिमि क्षेत्रका जनतालाई भूतप्रेतले अत्याधिक दुःख दिइरहन्थे । रातको समयमा मात्र नभइ दिनको समयमा पनि दुःख दिन थालेपछि किसान खेतीपाती गर्न जान पनि डराउन थाले ।
त्यसपछि राजाले तान्त्रिक, विद्वान, नामुद शास्त्रज्ञहरुसँग छलफल गरी मानिसमा तान्त्रिक रुपमा भैरवनाथ जगाइ टोलटोलमा क्रोधित मुद्रामा नचाएमा भूतप्रेत भाग्ने र कहिले नआउने सुझाव दिएपछि थिमिमा भैलः प्याँख अर्थात भैरब नाच सञ्चालनमा आएको बताइन्छ ।