१६ साउन, काठमाडौँ । कागतीको व्यावसायिक खेती र पर्याप्त उत्पादन भइरहे तापनि बजार अभाव र रोगको प्रकोपका कारण किसान निराश हुन थालेका छन् । भारतबाट आयात हुने कागतीलेसमेत स्थानीय उत्पादनको बजारमा समस्या सिर्जना गरेको किसानहरुको भनाइ छ ।
कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले झापामा आर्थिक वर्ष २०७६/७७ मा एक सय ७८ हेक्टर, आव २०७७/७८ मा दुई सय चार हेक्टर, आव २०७८/७९ मा तीन सय हेक्टर, आव २०७९/८० मा तीन सय हेक्टर र आव २०८०/८१ मा दुई सय ७० हेक्टर क्षेत्रफलमा कागतीखेती भएको बताए । आव २०७९/ ८० देखि जिल्लामा कागती खेतीको क्षेत्रफलमा कमी आउन थालेको छ ।
उनका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा एक हजार चार सय आठ मेट्रिक टन कागती उत्पादन भएको छ । उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव ७५ मेट्रिक टन रहेको छ । “जिल्लाको माग धान्ने गरी उत्पादन हुने गरेको छ,” उनले भने, “किसानहरु बिक्रीमा समस्या आएको बताउनुहुन्छ । बजारीकरणका बारेमा गम्भीर भएर सोच्ने बेला आइसकेको छ ।”
सरकारले कागतीखेतीलाई प्रोत्साहित गर्ने नीति ल्याएपछि किसानले धान खेत मासेर कागतीका बिरुवा रोपेका थिए । तत्कालीन कृषि विकास कार्यालयले तालिम, बिरुवा र मल दिने नीति ल्याएको थियो । पछि कृषि ज्ञान केन्द्रले कागतीमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ थप प्रोत्साहनका कार्यक्रमहरु ल्यायो । कागतीखेतीमा होमिएका किसानले बिरुवा, मल र सीप पाए पनि उचित बजारको व्यवस्था सरकारले गर्न नसकेको गुनासो गर्दै आएका छन् । पछिल्लो समय किसान साना गाडी लिएर गाउँ गाउँमा कागतीका पोका बेच्दै हिँड्न बाध्य छन् ।
पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु छ करोड २७ लाख २० हजारको आठ सय ९६ मेट्रिक टन कागती भारतबाट भित्रिएको प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । “चियाका बोट मासेर कागतीको व्यावसायिक खेती थालेको थिएँ,” विर्तामोड–६ का कमलराज बिमलीले भने, “सुरु सुरुमा त राम्रो फल्यो र आम्दानी पनि राम्रै पाइयो तर पछिल्लो समय रोगले बोट मास्न थाल्यो । भारतबाट सस्तो मूल्यमा भित्रिने कागतीले स्थानीय उत्पादनको बजार खर्लप्पै खान थालेको छ ।” कागतीको बोटमा टुप्पो सुक्ने प्रकोप देखापरेको उनले बताए । विगत एक वर्षमा कागतीका चार सय बोट सुकेर मरेको उनको भनाइ छ ।
झापामा कम्तीमा तीन सय किसानले कागतीको व्यावसायिक खेती गर्दै आएका छन् । केही सहकारी संस्थाले आफैँ र आफ्ना सदस्यलाई पनि यस खेतीमा लगाएका छन् । झापामा सुन–१, सुन–२, मद्रासी, युरिका र एनपीआरपी–५५ जातको कागतीखेती हुँदै आएको छ । कागतीको उत्पादन बढेपछि यसलाई कच्चापदार्थका रुपमा प्रयोग गर्ने अचार र जुसलगायत ठूला उद्योगहरु स्थापना नहुँदा किसानले सोचेजस्तो आम्दानी लिन सकेका छैनन् ।