प्रदेश 2

वीरगञ्जमा विद्युत कटौतीले सर्वसाधारण आजित

१६ साउन, वीरगञ्ज । औद्योगिक तथा व्यापरिक नगरी वीरगञ्जमा पटक–पटक विद्युत कटौती हुने समस्याबाट ग्राहक आजित भएका छन् । वर्षायाममा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले पर्याप्त मात्रामा विद्युत उत्पादन गरेपनि यहाँका घरासयी र औद्योगिक ग्राहकहरु दिनहुँ विद्युत कटौती हुने समस्याबाट आजित भएका हुन् । अत्यधिक गर्मी बढेपनि पटक–पटक हुने लोडसेडिङले सर्वसाधारणको दैनिकी अस्तव्यस्त बनेको छ । वीरगञ्ज महानगरको बजार क्षेत्रमा बिजुली कति बेला आउने र जाने कुनै निश्चित छैन । नियमित बिजुली नहुँदा सर्वसाधारण गर्मीमा बस्न बाध्य छन् ।

वीरगञ्ज महानगरपालिका–५ रेशमकोठीका परशुराम कलवारले गर्मीयाममा छिन–छिनमा विद्युत कटौती हुने समस्याले हैरानी खेप्नुपरेको गुनासो गरे । ‘‘वीरगञ्ज जस्तो अत्यधिक गर्मी हुने ठाउँमा पटक–पटक लोडसेडिङ हुँदा बाफिएर बस्नुपरेको छ,’’ उनले भने, ‘‘प्राधिकरणले कुनै ठाउँमा नियमित बिजुली दिने कतै नदिने समस्या छ । विशेष गरी मिनाबजार–गहवामाइमन्दिर रेशमकोठी बिर्ता एरियामा दिन होस या रात विद्युत कटौती नभएको दिनै हुँदैन । यसरी विद्युत काट्नुभन्दा लोडसेडिङको तालिका दिए जाती हुने थियो ।’’

वीरगञ्ज आसपासमा आज बिहान केही समय पानी परेको थियो । त्यस बाहेक यहाँ नियमित पानी नपर्दा गर्मी बढ्दो छ । विद्युत नियमित आपूर्ति नहुँदा जनजीवन प्रभावित भएको छ । गर्मीकै कारण वीरगञ्ज महानगर आसपासमा एसी तथा पङ्खा नचलाई बस्न सकिने अवस्था छैन ।

वीरगञ्जसहित पर्साभरि विद्युत् आपूर्तिका समस्यालाई मध्यनजर गर्दे नेपाल तरुण दल पर्साले मङ्गलबार नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा पुगेर ध्यानाकर्षण गराएको थियो । तरुण दल पर्साका सभापति विकास तिवारी नेतृत्वको टोलीले विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेलाई ज्ञापनपत्र बुझाएको हो । उनीहरुले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्कालै सम्बोधन गर्न माग गरेका थिए । सर्वसाधारणको घरमा मात्रै होइन, बारा–पर्साको औद्योगिक क्षेत्रमा पनि विद्युत कटौतीको समस्या उस्तै छ ।