कर्णाली प्रदेश

कनकासुन्दरीको भैँसेडीमा पक्की पुल निर्माण

१६ साउन, जुम्ला । जिल्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित भैँसेडीस्थित हिमा नदीमाथि पक्की पुल निर्माण भएको छ ।

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदमप्रसाद देवकाटाले पुल निर्माणपछि यहाँका गाउँ बस्तीका नागरिकलाई यातायातको पहुँचमा पु¥याउन निकै राहत भएको बताए । उक्त पुल नयाँ प्रविधिको प्रि–स्ट्रेस कङ्क्रीट पक्की पुल भैसेडीमा निर्माण भएको हो ।

हिमाली क्षेत्रमा निकै जोखिमयुक्त मानिने प्रि–स्ट्रेस कङ्क्रीट पुल यहाँ निकै सावधानीका साथ निर्माण गरिएको कार्यालय प्रमुख देवकोटाको भनाइ छ । “पुलको नियमित निरीक्षण, निगरानी तथा स्थानीय सडक पुल एकाइका प्राविधिक तथा सामाजिक सुरक्षा अधिकारीको सक्रियतामा पुल निर्माण सम्पन्न भएको हो । गाउँगाउँमा सडक पुगे पनि पुल नहुँदा कनकासुन्दरीका वडा नं ४ र ५ का नागरिक यातायात सेवाबाट वञ्चित थिए । झोलुङ्गे पुलकै साहारामा आवतजावत गर्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो,“भैँसेडीमा पक्की पुल निर्माण भएपछि दुर्गम गाउँलाई पालिकाको केन्द्रसँग जोड्न र स्थानीयको दैनिकी सहज बनाउन निकै सहयोग पुगेको छ ।”

कूल रु चार करोड ३२ लाख ६३ हजारको लागत रहेको यस पुलको लम्बाइ ३० मिटर, चौडाइ आठ दशमलव चार मिटर, गाडी गुड्ने चौडाइ छ मिटर, मानिस हिड्ने चौडाइ दुवैतर्फ एक दशमलव दुई मिटर रहेको निर्माण कार्यालय जनाएको छ ।