१७ साउन, महोत्तरी । जिल्लाको चुरेक्षेत्रमा अवस्थित टुटेश्वरनाथ महादेवको दर्शनका लागि श्रद्धालु भक्तजनले थालेका दण्डीयात्रा पस्रेर अघि बढ्नेको आज दोस्रो दिन पनि यात्रा जारी छ । निर्जन वनक्षेत्रमा बोलबम गुञ्जदो छ । बुधबार यसवर्षको साउने मेलाअन्तर्गतको दण्डीयात्रा सुरु गरेका श्रद्धालुले पहिलो दिन चार किलोमिटर यात्रा गरेका थिए ।
पस्रदै, उठ्दै फेरि पस्रदै । आपूm पस्रदा लम्पसार पर्दा ओगटेको दुरी रेखाङ्कित गर्दै गन्तव्यतिर अघि बढ्दै । सबैको एउटै उद्देश्य शिव दर्शन । सबैको एउटै वाणि ‘बोल बम ’
टुटेश्वरनाथ मन्दिरबाट १८ किमी दक्षिणको माण्डवीगङ्गा मडहा, बरुणमति बेलगाछी र स्वर्णमति सोनी नदीको त्रिवेणी सङ्गमबाट श्रद्धालुले पवित्र जलपात्रमा जल भर्दै शिव दर्शनका लागि बुधबार पस्रदै यात्रा सुरु गरेका हुन् ।
बर्दिबास–५ को चुरे शृङ्खलाको पहाडी थुम्कोमा अवस्थित टुटेश्वर मन्दिरलाई मधेसको कैलाश र नेपालको बाबाधाम भनिन्छ । अनादिकालको यो शिवलिङ्गको दर्शनबाट सुख, सन्तोष प्राप्त हुने विश्वासका आधारमा श्रद्धालुले पस्रदै यात्रा गर्ने चलन बसको ३४ वर्ष भएको स्थानीय ७२३ वर्षीय वासुदेव महतोले बताए । “विसं २०४८ साउन १७ गते पहिलो पटक टुटेश्वर दर्शनका लागि दण्डीयात्रा ठगा साहसँग मिलेर दुईजनाले सुरु गरेका थियौँ । यसपटक ३४औँ यात्रा हो”, उनले भने ।
बर्सेनि यात्रामा सहभागी हुँदा आफू सधैँ उर्जावान हुने गरेको महतोको बुझाइ छ । दुईजनाबाट सुरु भएको यात्रामा यसवर्ष करिब ३० बढी श्रद्धालु सहभागी भएको उनले जानकारी दिए । यसपाली साउने औँसीका दिन बिहान सभाप्रहर बित्नुपूर्वको माङ्गालिक बेलामा जल चढाउने तालिका बनाएर यात्रा थालिएको उनको भनाइ छ ।
त्रिवेणीमा ब्राह्मणको स्वस्तिवाचन, पाठबीच यात्रा सङ्कल्प गरेर कम्मरमा जल झुण्ड्याइ पस्रदै अघि बढेका श्रद्धालु भक्तजनले पाँचौँ दिन बिहान सभाप्रहर बित्नअघि टुटेश्वरनाथ शिवलिङ्गमा जल, बेलपत्र र जौँ चढाएर दर्शन गर्ने तालिका बनाएका छन् ।
“हामी पाँचौँ दिन बिहान भोलेबाबाको शरणमा पुग्छौँ”, दिपु यादवले भने, “पहिला हातखुट्टा दुख्ने, राम्री नचाल्ने समस्या थियो । यात्रामा सहभागी हुन थालेपछि हिँडडुल गर्नसक्ने भएको छु । यसवर्षको यात्रा ११ औँ पटकको हो ।”
यादवको प्रारम्भमा बोली लरबरिने समस्या पनि क्रमशः ठिक हुँदै गएको उनका छिमेकी बताउँछन् । शिव दर्शनका लागि कष्टकर यो विधिबाट कुनै शारीरिक कष्ट महसुस नगरिएको यात्रामा सहभागी बताउँछन् ।
“एकपटक लम्पसार पर्दा हातले जति दूरीमा रेखा खिच्न भ्याइन्छ, अर्को पटक त्यही रेखामा लम्पसार परेर यात्रा अघि बढाइन्छ । मिथिलामा बोलीचालीमा ‘दण्डी’ भनिने यस यात्राका श्रद्धालुलाई ‘दण्डीबम’ भनिन्छ । साउनमा यो यात्राका म्ँधइम्ब्ँट शिव दर्शन गरेमा मन शान्ति र स्वस्थ महसुस हुने गर्दछ”, गौशाला–८ का ४५ वर्षीय मायाराम साहले भने । यसवर्ष १०औँ पटकको दण्डीयात्रा थालेको उनले बताए ।