१८ साउन, म्याग्दी । बेनी नगरपालिका–३ भकिम्लीमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । बेनी नगरपालिकाको ५० लाख बजेटमा सभाहलसहित पाँच कोठे एक तले पक्की भवन निर्माण भएको हो । बेनी नगरपालिका–३ का वडाध्यक्ष पदमबहादुर पुनले नयाँ भवनबाट स्वास्थ्य चौकीको सेवा सञ्चालन हुने जानकारी दिए ।
“स्वास्थ्य चौकी सञ्चालन भइरहेको नमूना आमा समूहको पुरानो भवन जीर्ण बन्दा पानी चुहिने समस्या थियो”, उनले भने, “बेनी नगरपालिकाबाट आर्थिक वर्ष २०७९-०८० मा ३० लाख र २०८०-८१ मा २० लाख बजेट विनियोजन गरेर भवन बनाएका हौँ ।”
नयाँ भवनमा सभाहलसहित उपचार, सहायता, स्वास्थ्यकर्मी, प्रशासन र औषधि भण्डारण कक्ष रहेको भकिम्ली स्वास्थ्य चौकी भवन निर्माण समितिका अध्यक्ष भोजबहादुर थापाले बताए । स्वास्थ्य चौकीको नयाँ भवन निर्माणपछि करिब एक हजार घरधुरी
लाभान्वित हुने उनको भनाइ थियो ।
जीर्ण, साँघुरो र पानी चुहिने कच्ची भवनमा स्वास्थ्य संस्था सञ्चालन गर्दा नागरिकलाई समस्या भएको थियो । स्वास्थ्य चौकीको भवन बनाउन स्थानीय पृथीलाल खत्रीका परिवारले आठ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
यसअघि वान हर्ट संस्था र बेनी नगरपालिकाको साझेदारीमा ४५ लाखको लागतमा चार कोठे प्रसूति गृह निर्माण भएको थियो । उक्त संस्थाले भवनमा प्रसूति सेवाका लागि उपकरण सहयोग गरेको छ ।