कर्णाली प्रदेश

स्थापनाको आठ वर्षपछि इलबाट काम सुरु

१९ साउन, सुर्खेत । इलाका प्रशासन कार्यालय इल, मुड्केचुला डोल्पाबाट नागरिकता वितरण सुरु भएको छ । विसं २०७३ मा स्थापना भएको उक्त कार्यालयबाट नागरिकता वितरण सुरु गरेको हो । यही साउन १८ गते डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले नागरिकता वितरण सुरु गरेको जनाइएको छ ।

कार्यालय स्थापना भए पनि इन्टरनेटसहितका पूर्वाधार नहुँदा कार्यालयबाट यसअघि सेवा प्रवाह हुनसकेको थिएन । उक्त सेवा लिन यसअघि त्यस क्षेत्रका नागरिकलाई सदरमुकाम आउन पैदल र गाडीमा एक दिन लाग्थ्यो । वर्षायाममा नियमित गाडी पनि चल्दैनन् ।

प्रमुख जिल्ला अधिकारी दाहालले आफूले केही दिन सो कार्यालयमा बसेर सेवा दिने र केही दिनपछि सहायक प्रमुख जिल्ला अधिकारी आएर सेवा दिने बताए । उनले आज शनिबारका बिदाका दिन पनि सेवा प्रवाह गरिरहेको बताए ।