२० साउन, बाँके । बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको छ । निकुञ्जभित्र रहेका प्राकृतिक सम्पदा, वन्यजन्तु र पर्यटकीय क्षेत्रको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका हुन् ।
गत आर्थिक वर्षमा चार सय ४४ पर्यटक भित्रिएका निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिए । उनका अनुसार तीमध्ये चारजना सार्क मुलुक र १० जना विदेशी पर्यटक छन् । आर्थिक वर्ष २०७९÷८० मा तीन सय १७ पर्यटक आएका जनाउँदै अघिल्लो आवको तुलनामा गत आवमा एक सय २७ बढी पर्यटक भित्रिएका शाहले बताए ।
पर्यटक प्रवेश शुल्कबाट निकुञ्जले गत आवमा एक लाख ८३ हजार तीन सय ३३ राजस्व सङ्कलन गरेको छ । निकुञ्जमा जङ्गल वाक, जिप सफारी, हात्ती सफारी, चरा अवलोकन, क्याम्पिङ, हाइकिङका लागि पर्यटक आउने गरेका संरक्षण अधिकृत शाहले जानकारी दिए ।
“बाँके राष्ट्रिय निकुञ्जमा स्थापना भएपछि हालसम्म दुई हजार ५२ पर्यटक भित्रिएका छन् । जसमध्ये सार्क मुलुकका १७ र ३८ जना अन्य विदेशी पर्यटक छन् । निकुञ्जमा सबैभन्दा धेरै गत आवमा पर्यटक भित्रिएका हुन्”, संरक्षण अधिकृत शाहले भने ।
बाँके, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेश बिन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्न, निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको उनको भनाइ छ ।
विसं २०६७ मा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज मूलतः पाटेबाघको बासस्थानका रुपमा चिनिन्छ । हाल निकुञ्जमा २१ वटा बाघ छन् । नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ ।
भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका प्रमुख वरिष्ठ संरक्षण अधिकृत शाहले बताए । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेको उनको बुझाइ छ ।