शिक्षा

त्रिविको छिटो नतिजा प्रकाशनले शिक्षामा सुधारको सङ्केत, डिन-सहायक डिन अहोरात्र सुधारका लागि शनिवार पनि खटिए

२० साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पछिल्लो समयमा आङ्गिक क्याम्पसका परीक्षाका नतिजाहरू छोटो समयमा नै प्रकाशित गर्न थालेको छ । 

केही वर्ष अगाडी परीक्षा दिएको एक बर्ससम्ममा पनि परीक्षाको नतिजा प्रकाशित गर्न नसक्ने त्रिविले पछिल्लो समयमा आएको नेतृत्वको दूरदर्शीताका कारण पनि नतिजा छिटो प्रकाशन गर्न सफल भएको देखिन्छ ।

९० दिनमा  प्रकाशन गर्ने तालीका बनाएको त्रिविले स्नातकोत्तर तह प्रथम, द्वितीय, तेस्रो चौथो सेमेस्टरको परीक्षाको नतिजा धमाधम प्रकाशन गरिरहेको छ । केही दिन अगाडी राजनीतिक शास्त्र, समाज शास्त्र, एमपीएको परीक्षाको नतिजा प्रकाशन गरेको त्रिभुवन विश्वविद्यालयले शनिबारमात्र पत्रकारीताको स्नातकोत्तर दोस्रो सेमेस्टरको नतिजा प्रकाशन गरेको छ ।  

समयमा परीक्षाको नतिजा दिन नसकेकोले त्रिविले आलोचना व्यहोरेको अवस्था थियो भने पछिल्ला दिनहरूमा शिक्षा क्षेत्रमा चासो राख्नेहरूको प्रशंसा बटुल्न थालेको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय डिनको कार्यालय, उपकुलपति कार्यालय, रजिस्ट्रार कार्यालयलगायत त्रिभुवन विश्वविद्यालयका डीन, सहायक डिन, कर्मचारीलगायतको मेहनत राम्रो भएको देखिएको नतिजा प्रकाशनपछि नतिजा हेर्दै गरेका विद्यार्थीहरूले सुर्यखबरलाई प्रतिक्रिया दिए । शनिवार आएको पत्रकारिता विषयको नतिजा पछि मानविकी संकायका डिन, सहायक डिनलगायत कर्मचारीहरू परीक्षाको नतिजा प्रकाशनको प्रभावसङै डिन कार्यालयमा नै कार्य व्यस्ततामा रहेको देखिन्थे ।

नेपालको शिक्षा क्षेत्रको पुरानो र सबैभन्दा ठुलो अनुसन्धान केन्द्रको रूपमा विकास गर्न सकिने विश्वविद्यालयमा रहेको सयौँ कमजोरीहरूलाई अन्त्य गर्दै विश्व स्तरमा प्रतिस्पर्धा गर्न सकिने विश्वविद्यालयको रूपमा त्रिविलाई विकास गर्न सकिने कुरामा त्रिविले निकालेको परीक्षाफलसँगै विश्वास गर्न मात्र नभएर भर पर्ने ठाउँ रहेको अनुमान लगाउन सकिन्छ । 

पत्रकारिता विभागका विभागीय प्रमुख डा कुन्दन अर्यालसमेत उक्त विभागका उपप्राध्यापक पनि दिनरात नभनी उक्त भर्खरै सरेको वल्नखुस्थित भवनमा खटिरहेका देखिन्थे । त्रिविलाई आधुनिक र वैज्ञानिक बनाउने दिशामा सबै लागेको नतिजा प्रकाशनबाट देखिन्छ भन्दै त्रिवि नेतृत्वलाई सहयोग गर्नुपर्ने राजनीति शास्त्र अध्ययन गर्दै गरेका विद्यार्थी नीलकण्ठ गौतमले बताए ।