२१ साउन, काठमाडौँ । देशभरका विद्यालय तथा शिक्षकको क्षमता अभिवृद्धि गर्न काठमाडौँ विश्वविद्यालयअन्तर्गतको स्कुल अफ एजुकेसन र ई–लर्निङ प्लेटफर्म ‘एम्बिसन गुरु’ बीच साउन २० गते एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । शिक्षण पेसा गरिरहेका र शिक्षक बन्न इच्छुक व्यक्तिको क्षमता अभिवृद्धि साथसाथै उनीहरूको सशक्तीकरण गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण पाठ्यक्रम तयारगरी कक्षा सञ्चालन गर्न एम्बिसन गुरु र काठमाडौँ विश्वविद्यालयअन्तर्गतको स्कुल अफ एजुकेसनले सहकार्य गर्ने भएको हो ।
यी पाठ्यक्रम शैक्षिक सीप वृद्धि गर्न, मूल्याङ्कन मापदण्ड परिष्कृत गर्न र निरन्तर व्यावसायिक विकासको संस्कृतिलाई प्रोत्साहन दिन डिजाइन गरिएका हुन् । शिक्षकलाई नवीनतम उपकरण र विधिसँग परिचित गराएर शिक्षाको गुणस्तर उकास्ने लक्ष्यसहित दुई शैक्षिक संस्थाबीच हस्ताक्षर भएको हो । यस सहकार्यको मुख्य उद्देश्य समग्र देशको शैक्षिक उन्नयनलाई केन्द्रमा राखी विद्यालयको शैक्षिक र व्यावसायिक विकास सुदृढ गर्नु रहेको, काठमाडौँ विश्वविद्यालयका अशोसिएट डीन प्रकाश भट्टराई को विश्वास छ ।
“काठमाडौँ विश्वविद्यालयले निरन्तर सिकाइका लागि परामर्श दिनुका साथै देशभरका विद्यालय तथा सिकाइ केन्द्रमा आधारित व्यावसायिक विकास क्रियाकलापमार्फत देशभरका शिक्षकको क्षमता विकासमा सहयोग गर्नेछ”, भट्टराई भन्छन्, “यो सहकार्यअन्तर्गत काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनले आवश्यकताअनुरुप मूल्याङ्कन उपकरणको विकास, शिक्षक व्यावसायिक विकास पाठ्यक्रमको डिजाइन, शिक्षणशास्त्रमा सूचना प्रविधिको सम्भावनाको खोजी, व्यावसायिक शिक्षक प्रशिक्षकको नियुक्ति, विभिन्न कार्यशाला सहजीकरणका लागि पाठ्यक्रम विकास र शिक्षक तथा नेतृत्वकर्ताको अभ्यासमा निरन्तर अनुगमन तथा व्यवस्थापन लगायतको काम गर्नेछ ।”
कार्यक्रमका लागि देशका विभिन्न स्थानबाट फरकफरक समुदायको सहभागिताको पनि सुनिश्चितता गर्नेछ । यस्तै एम्बिसन गुरुका ‘एकेडेमिक डाइरेक्टर’ प्रकाश पाण्डेले एम्बिसन गुरुले भने कार्यक्रममा संलग्न सबै आर्थिक व्यवस्थापन, शिक्षकलाई पाठ्यक्रम वा कार्यशालामा सहभागी गराउने, कार्यशाला र सत्रको प्रभावकारी सञ्चालनका लागि आवश्यक व्यवस्था, शिक्षक र प्रशिक्षकका लागि प्रगतिशील र प्रोत्साहनमूलक वातावरण सिर्जना र कार्यक्रमको निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी लिने जानकारी दिए ।