२१ साउन, चितवन । नारायणी नदीले कटान गरेको पश्चिम चितवनको सिश्वार क्षेत्रमा ढुङ्गा अभावमा मर्मत हुन सकेको छैन । भरतपुर महानगरपालिका–२६ सिश्वारमा नदीले दुई ठाउँमा कटान गरेको छ । नदीमा थप बाढी आएमा बस्ती पस्नसक्ने उच्च जोखिम छ ।
गत साता भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सरोकारवालाले अनुगमनगरी तत्काल ती ठाउँमा ठूला ढुङ्गा राखेर नदी कटान रोक्ने निर्णय गरेको थियो । भरतपुर महानगरपालिकाले तत्कालका लागि २० लाख दिने निर्णय गरेको छ ।
कामको जिम्मेवारी नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरलाई दिइएको छ । कार्यालयका प्रमुख मनोहरकुमार साहले ठूला ढुङ्गा नपाउँदा काम प्रभावित भएको बताए । उक्त ठाउँमा कम्तीमा चार सय घनमिटर ठूला ढुङ्गा राख्नुपर्ने हुन्छ । अहिलेसम्म दुई सय घनमिटर ढुङ्गा राखिएको भन्दै प्रमुख साहले त्यो ढुङ्गा पानीभित्र नै डुबेको बताए ।
सो क्षेत्रमा तटबन्धन नगरिएको तीन सय मिटर क्षेत्र कटान भएको छ । साहले ढुङ्गाका लागि भरतपुर महानगरपालिका–२९, कालिका नगरपालिका र मकवानपुरको मनहरीमा हेरिएको भए पनि टुङ्गो लागि नसकेको जानकारी दिए । भरतपुर महानगरपालिकालाई पत्राचार गरेर वडा नं २९ को ढुङ्गा निकासीका लागि आग्रह गरिएको भन्दै उनले अन्यत्र जहाँबाट भए पनि ढुङ्गा पाउनासाथ काम गरिने बताए ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालका लागि २० लाख महानगरपालिकाले विनियोजन गरेको भन्दै बजेटका कारण काम नरोकिने बताए । महानगर क्षेत्रभित्र ढुङ्गा भेटिएमा आवश्यक सहजीकरण गरेर काम गर्ने उनले बताए ।
उनले भने, “कटान तत्काल रोक्नुपर्छ, त्यसका लागि महानगरपालिकाले गर्नुपर्ने सबै काम गर्न तयार छ ।” नारायणी नदीमा तटबन्ध नगरिएका क्षेत्रमा नदी कटान भएको छ । १० वर्ष अघि तटबन्ध गरिएको वडा नं २८ मा गरेको कटान रोक्न ठूला ढुङ्गा राखिएको छ । वडा नं १६ र १७ मा पनि नदीले कटान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नारायणी नदी व्यवस्थापन आयोजनालाई ढुङ्गा खोज्न भनिएको र आवश्यक सहजीकरणका लागि आफूहरु सकारात्मक रहेको बताए । समयमै सो क्षेत्रमा ढुङ्गा नराखिएमा नदीले थप कटान गरेमा पश्चिम चितवनमा ठूलो क्षति व्यहोर्नुपर्ने स्थानीय बताउँछन् । तटबन्ध गरिएका कारण अन्य अधिकांश क्षेत्र सुरक्षित छ ।