गण्डकी प्रदेश

५१औँ थाक खेलकुद प्रतियोगिता मार्फामा

२२ साउन, म्याग्दी । थाक खेलकुद तथा सांस्कृतिक प्रतियोगिताको यस वर्षको संस्करण पर्यटकीय गाउँ मार्फामा हुने भएको छ ।

आगामी असोज ५ देखि ७ गतेसम्म घरपझोङ गाउँपालिका–२ मार्फामा ५१ औँ थाक खेलकुद तथा सांस्कृतिक प्रतियोगिता आयोजना गरिएको हो ।

थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घका अध्यक्ष कृष्णकुमार शेरचनले खेल प्रतिभाको पहिचान, संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

“५० वर्षदेखि घरपझोङ र थासाङ गाउँपालिकाको फरकफरक गाउँमा हरेक वर्ष सञ्चालन हुने थाक खेलकुदको ऐतिहासिक र सांस्कृतिक महत्त्व छ”, उनले भने, “१० वटा उपसमिति गठनगरी तयारी तीव्र पारेका छौँ ।”

पुरुष भलिबल, तारा खेल घनुषवाण ४० वर्ष माथिका र आर्चरी खुला, लोकनृत्य र थकाली गीत प्रतियोगिता सञ्चालन हुने थाक खेलकुद विकास तथा सांस्कृतिक संस्थाका सचिव विष्णु थकालीले बताए ।

पुरुष भलिबलमा विजेता र उपविजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद एक लाख ५० हजार र एक लाख पुरस्कार प्रदान गरिनेछ । धनुुषवाण र आर्चरीमा विजेतालाई ५० हजार र उपविजेतालाई रु २५ हजार प्रदान गरिने सङ्घले जनाएको छ ।

नृत्य प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुनेलाई क्रमशः ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र मेडल वितरण गरिने भएको छ ।