सुदूरपश्चिम

राहत र क्षतिपूर्ति उपलब्ध गराउनेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत

२३ साउन, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाले हालैको वर्षाका कारण पीडित प्रदेशवासीलाई राहत एवं क्षतिपूर्ति उपलब्ध गराउनेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रस्तुत गरेको ‘गत असारमा अविरल वर्षाका कारण प्रदेशवासीलाई पुगेको क्षतिबाट पीडित प्रदेशवासीलाई नियमानुसार तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सभामार्फत प्रदेश सरकारलाई निर्देश गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो ।

गत असार महिनामा अविरल वर्षासँगै भएको पहिरो, बाढी, डुबानलगायत विपद्का कारण प्रदेशमा धनजनको क्षति पुगेको थियो । यसअघि आजकै बैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरूले मनशुनजन्य विपद् र बाघ आक्रमणको घटनाबाट मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति, प्रभावितलाई राहतको व्यवस्था मिलाउन, आर्थिक वर्ष २०८१÷८२ को बजेट शून्यताका बारेमा देखिएको अन्योलता चाँडै अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले शून्य समयमा उठेका प्रश्नको जवाफ दिर्दै विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति र प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।
शून्य समयमा खेमादेवी विष्ट, धर्मराज पाठक, दमनबहादुर भण्डारी, प्रकाश रावल, विक्रमसिंह धामी, बेलबहादुर रानामगर र सन्तोषीकुमारी शर्मा थापाले आफ्नो धारणा राखेका थिए ।

बाघको आक्रमणबाट केही दिनअघि कञ्चनपुरको दोधारा चाँदनीका महिला हीरा शाहीको मृत्यु भएको थियो । घर नजिकैको खेतमा काम गरिरहेको अवस्थामा शाहीलाई बाघले आक्रमण गरेको थियो । उक्त क्षेत्रमा बाघ आक्रमणको त्रास अझै नहटेको स्थानीयले बताएका छन् ।

उक्त क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य बेलबहादुर रानामगरले बाघको त्रास अझै कायमै रहेको बताए । उनले भने, “बाघले स्थानीयवासीले पालेको वस्तुभाउ खाएको भन्ने जानकारी आएको छ । यो समस्या नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक काम गर्न आग्रह छ ।”