२४ साउन, म्याग्दी । नेपाल पश्मिना उद्योग सङ्घले ऊनी तथा पश्मिनाजन्य कच्चापदार्थको चोरी निकासी नियन्त्रण गर्न माग गरेको छ । मुस्ताङ, डोल्पा, दार्चुला, मुगु, हुम्लालगायत जिल्लामा उत्पादित कच्चापदार्थको अनधिकृत निकासी हुँदा नेपालका पश्मिना उद्योग समस्यामा परेका सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले पश्मिनाको कच्चापदार्थ भुवाको चोरी निकासीका कारण राज्य र उद्योगी दुवैलाई नोक्सानी भएको बताए ।
“ऊनी तथा पश्मिनाजन्य सामान नेपालबाट विदेश पठाउन नपाइने नियम उल्लङ्घन गरेर चिनियाँ व्यापारीले अवैध रुपमा भुवा लगेर पछि नेपाली उद्योगीलाई नै बेच्ने गरेका छन्”, उनले भने, “नेपालका उद्योगीहरुले कृषकबाटै कच्चापदार्थ खरिद गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका हौँ ।”
सङ्घको मागपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालय र भन्सार विभागले हालै जिल्ला प्रशासन र भन्सार कार्यालयलाई पश्मिनाजन्य कच्चापदार्थको अनधिकृत चोरी निकासी नियन्त्रणका लागि परिपत्र गरेका छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले गृह मन्त्रालयको परिपत्रअनुसार कोरला नाकाबाट भुवाको अनधिकृत चोरी निकासी नियन्त्रणका लागि निगरानी बढाइएको बताए ।
“पश्मिना उद्योगीको गुनासो र मन्त्रालयको परिपत्रअनुसार कोरला नाकामा निगरानी बढाएका छौँ”, उनले भने, “कोरोना महामारीअघि चीनतर्फ पश्मिना लैजाने गरे पनि पछिल्लो समय त्यस्तो नभएको हामीले अध्ययनका क्रममा पाएका छौँ ।”
च्याङग्राको भूवा पस्मिनाका लागि क श्रेणीको कच्चापदार्थ मानिन्छ । भेडा र चौरीको तुलनामा च्याङ्ग्राको भुवालाई गुणस्तरीय मानिएको छ । प्राकृतिक रुपमा विरलै उत्पादन हुने च्याङ्ग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ ।
नेपालबाट निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चापदार्थको रुपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक एक सय ९५ टन पस्मिना बनाउन आवश्यक भुवाको धागो आयात हुन्छ ।
विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भीम शेरचनले बताए । सङ्घले मुस्ताङबाट वार्षिक दुई मेट्रिकटन भुवा सङ्कलन गरेर लैजाने गरेको छ ।
नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भूवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकले व्यावसायिक च्याङ्ग्रा पालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार ५२ हजार च्याङ्ग्रा पालिएको छ ।