२५ साउन, काठमाडौँ । पन्त स्मृति प्रतिष्ठानले विभिन्न विधामा स्रष्टालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानद्वारा आज आयोजित एक कार्यक्रममा बाल प्रतिभा पुरस्कारबाट पूर्णिमा सिंह, चित्रकला विधातर्फ विनय हुमागाईं, हास्यव्यङ्ग्य विधातर्फ नरनाथ लुइँटेल र उपन्यास विधातर्फ किरण आचार्य पुरस्कृत भएका हुन् ।
यसैगरी लोककथातर्फ संस्कृतिविद् डा निर्मला पोखरेल, साहित्यिक विधागत पत्रिकातर्फ विमल भौकाजी, समालोचना विधामा युवराज मैनाली, समाज सेवातर्फ सरिता अर्याल र बाल साहित्यतर्फ सुशीला देउजा पुरस्कृत भएका छन् ।
कार्यक्रममा ‘नवज्योति’ पत्रिका विमोचन गरिएको थियो । नवज्योति पत्रिकाको गद्य विधामा उत्कृष्ट भइ इन्दिरा पन्त सम्मान पुरस्कार छात्र ओजस अधिकारी र पद्य विधामा उत्कृष्ट भइ दधिलक्ष्मी पराजुली सम्मान पुरस्कार छात्रा कर्णिका निरौलाले प्राप्त गरे ।
प्रतिष्ठानले विभिन्न विद्यालयका छात्र र छात्रालाई छात्रवृत्ति वितरण गरेको थियो । कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष इन्दु पन्त र प्रमुख अतिथि संस्कृतिविद् डा जगमान गुरूङले पुरस्कर वितरण गरेका थिए ।