सुदूरपश्चिम

बहुउपयोगी वनस्पति विजयसाल संरक्षणमा जुट्दै स्थानीय

२६ साउन, गोदावरी । कैलाली पछिल्लो समय बहुउपयोगी वनस्पतिका रूपमा रहेको विजयसालको संरक्षणमा स्थानीय जुट्न थालेका छन् ।

चुरे शृङ्खलाको फेद र भावर क्षेत्रमा पाइने विजयसाल जनचेतना अभावका कारण घाँस, दाउराका रूपमा प्रयोग हुँदै जान थालेपछि यसको संरक्षण गर्न स्थानीयले पहल थालेका हुन् ।

कैलालीको चुरे गाउँपालिका–४ बाजुरगाडास्थित समैजी सामुदायिक वन क्षेत्रमा विजयसाल पाइने जनाउँदै स्थानीयलाई यसको महत्व बुझाएर संरक्षण अभियान थालिएको सामुदायिक वनका अध्यक्ष हेमबहादुर विष्टले बताए । उनका अनुसार वन क्षेत्रको चार दशमलव पाँच हेक्टर क्षेत्रफलमा रहेको विजयसालको संरक्षण गर्ने उद्देश्यले घाँस, दाउराका रूपमा प्रयोग गर्न रोग लगाइएको हो ।

अध्यक्ष विष्टले सामदायिक वन क्षेत्रमा रहेको विजयसालको संरक्षण थालिएको बताउँदै वन क्षेत्र बाहिर संरक्षण गर्न नसकिएको उल्लेख गरे । वन क्षेत्र बाहिर रहेका सबरुवा संरक्षणमा स्थानीयलाई सहभागी गराउन छलफल गरी यसको महत्व बुझाएर अगाडि बढ्ने उनको भनाइ छ ।

विजयसालको भाँडामा राखिएको पानी पिउँदा पेटसम्बन्धी विभिन्न रोग, मधुमेह, कमलपित्त, उच्च रक्तचाप, पिसाब पोल्ने र हाडजोर्नी दुख्ने समस्या केही मात्रामा समाधान गर्न सकिने स्वास्थ्यकर्मी बताउँछन् ।

विजयसालका भाँडामा सधैँ पानी राख्दा माथिल्लो भाग नीलो, बीचको भाग रातो र पिँधको भागको रङ पहेँलो देखिने गर्दछ । यसको विजयसालको बोक्रा, खोटो र कलिला पातबाट निकालिएको रस औषधिका रुपमा प्रयोग गरिने स्थानीय प्रेम मगरले बताए । साथै काठबाट गाग्री, ठेकी, कचौँरा, गिलास, लोटालगायत सामग्री बनाउन सकिने उनले जानकारी दिए ।

डिभिजन वन कार्यालय धनगढीका अनुसार जिल्लामा कूल ६० प्रतिशत विजयसाल समैजी सामुदायिक वन क्षेत्रमा पर्दछ । लोप हुने अवस्थामा पुगेको बहुउपयोगी वनस्पति विजयसाल संरक्षणका लागि डिभिजन वनले योजना बनाएर कार्यान्वयन गर्न सरोकार भएकासँग छलफल गरिरहेको डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले बताए। स्थानीयलाई जनचेतना जगाएर यसको महत्व बुझाउनुपर्ने भन्दै उनले खाली स्थानमा थप बिरुवा रोप्ने विषयमा पनि छलफल गरी काम गर्ने तयारी भइरहेको बताए ।