प्रदेश 2

नदी सरसफाइमा राजविराजका युवा सक्रिय

२६ साउन, राजविराज । सप्तरी जिल्लास्थित राजविराजमा पर्ने भलुवाही खोलामा वर्षौँदेखि थुप्रिएको फोहर स्थानीय युवाले सफा गरेका छन् । ‘सरसफाइ तपाईंको हातमा, हामी युवा तपाईंको साथमा’ भन्ने नारासहित युवा खोला सरसफाइमा जुटेका हुन् ।

देशमा परिर्वतन गर्न युवाको आवश्यकता पर्दछ भन्ने सन्देश दिने उद्देश्यले प्रत्येक शनिबार स्थानीय खोला, नदी सरसफाइमा यहाँ युवा सक्रिया हुँदै आएका सप्तरी युथ क्लबले जनाएको छ ।

क्लबको आयोजना तथा राजविराज नगरपालिका र राजविराज युथ कम्युनिटीको सहकार्यमा प्रत्येक शनिबार भलुवाही खोलासहित यहाँका अन्य नदी तथा खोला सरसफाइ अभियानमा युवा जुटेका क्लबका कार्यवाहक अध्यक्ष मोहन यादवले बताए ।

खोलामा छरिएर रहेका फोहर, घाँस, नाला तथा खोलाभित्र वर्षौँदेखि मानिसले फालेका नकुहिने पानीका बोतल, सिसा, फलामलगायत फोहरजन्य वस्तु निकालेर सफा गरिँदै आइएको उहाँले उल्लेख गर्नुभयो । युथ क्लब नेपालको आयोजनामा थालिएको सरसफाइ अभियानको आज ११ औँ हप्तामा पुगेको छ ।

कार्यवाहक अध्यक्ष यादवलेजिल्लाको समग्र विकाससँगै राजविराजको मुख्य बजार हँुदै बग्ने भलुवाही खोलालाई व्यवस्थित गर्न लागिएको जनाउनुभयो । “उक्त खोलालाई आफ्नो स्वरुपमा फर्काउन युवाको सहयोगमा आज पनि सरसफाइ गरिएको छ”, उनले भने।

जलवायु परिर्वतनलाई मध्यनजर गरी राजविराज–८ स्थित खानेपानी डिभिजन कार्यालयबाट कनौली रोडको पब्लिक माध्यमिक विद्यालयसम्म सरसफाइ गरिएको छ । क्लबको स्रोत परिचालन गरेर खोला सरसफाइ थालिएको बताउँदै ४० जनाको समूहमा जेसिबी भाडामा लिएर सरसफाइ गर्ने गरिएको उनले जानकारी दिए ।

कार्यवाहक अध्यक्ष यादवले भने, “समुदायलाई सफा, स्वास्थ बनाउन, पर्यावरणीय सन्तुलन कायम राख्न जनप्रतिनिधि, राष्ट्रसेवाक कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मीसहितको सहभागितामा सरसफाइ अभियानमा थालेका छौँ । यसलाई निरन्तरता दिन नगरपालिकाले आर्थिक सहयोग गर्नुपर्ने हाम्रो माग छ ।” एक वर्षभित्र भलुवाही खोला सरसफाइ सकेर वृक्षरोपण गर्ने योजना रहेको बताउँदै उनले यसमा सबैको सहयोगको अपेक्षा गरे।

भलुवाही खोलामा सबै तिरबाट आएको फोहरका कारण वातावरणलाई प्रतिकूल प्रभाव पार्नुका साथै लामखुट्टे, किरापट्याङ्गा लगायतको जोखिम बढेको क्लबका सचिव आयुष श्रेष्ठले बताउनुभयो । “सरसफाइ थालिएसँगै स्थानीयको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ”, उनले भने ।

खोलाको फोहरका कारण समान्य वर्षा हुँदा पनि बाढीले राजविराज नगर क्षेत्र जलमग्न हुने गरेको स्थानीयले बताएका छन् । क्लबले राजविराजस्थित सरकारी कार्यालय अगाडिका बाटोमा फूलका बिरुवा लगाउन थालेको
छ । रुपनी बसपार्क, राज रङ्गशाला हुँदै राम मन्दिरसम्मको दुई किलोमिटर बाटोमा फूल लगाउन थालिएको क्लबका सचिव श्रेष्ठले जानकारी दिए ।