२६ साउन, तनहुँ । ग्रिनिङ र सिट्रसरोगका कारण सुन्तलाका बिरुवा मर्न थालेपछि किसान चिन्तित भएका छन् । उक्त रोग लागेर सुन्तलाको बोट मर्नुका साथै उत्पादनमा ह्रास आउने भएपछि किसान निराश बनेका हुन् ।
कृषि ज्ञान केन्द्रका अनुसार यो रोग लागेपछि सुन्तलाको फेद कुहिने, बिरुवाको टुप्पोबाट मर्दै जाने, पात पहेँलो हुने र उत्पादनमा ह्रास आउनेलगायत समस्या देखापर्छ । व्यास नगरपालिका, म्याग्दे, भीमाद, आँबुखैरेनी, ऋषिङ, शुक्लागण्डकी र बन्दीपुर गाउँपालिका सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिए ।
उनका अनुसार सिट्रस सिल्लाका वयस्क र बच्चा दुवै अवस्थाका कीराले ग्रिनिङ रोग लागेका बिरुवाको पातबाट रस चुस्दछन् । उनले भने, “रोगी बोटबाट रस चुसेसँगै ग्रिनिङ रोग लगाउने ब्याक्टेरिया पनि कीराभित्र प्रवेश गर्दछ ।” रोगी बोटबाट ती कीराको माध्यमबाट क्रमशः बगैँचाभित्रका अन्य निरोगी बोटमा पनि रोग सार्ने काम गर्दछन् ।
आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा एक हजार छ सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । अहिले नौ सय ६० हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ । प्रतिहेक्टर बाह्र मेट्रिक टन सुन्तला उत्पादन क्षमता रहेको सो केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा ११ हजार पाँच सय १८ मेट्रिक टन सुन्तला उत्पादन हुँदा ३० करोड बढीको सुन्तला बिक्री भएको थियो ।
कार्यालयबाट सुन्तलाखेतीका लागि क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत अनुदान दिन थालेपछि बर्सेनि जिल्लामा सुन्तलाखेती विस्तार हुँदै गएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले बताए । हाल आठवटा ब्लकमा सुन्तलाखेती हुदै आएको छ । ब्लक बन्नका लागि न्यूनतम ७० हेक्टर क्षेत्रफल हुनुपर्ने प्रावधान छ । उनले भने, “ब्लकमा सुन्तलाखेती गर्न चाहने किसानले व्यक्ति, समूह र सहकारीमार्फत कलष्टर बनेर आउनुपर्ने व्यवस्था रहेको छ ।”