२६ साउन, काठमाडौँ । किरण आचार्यको पौराणिक कथामा आधारित उपन्यास ‘अहिल्या’ सार्वजनिक भएको छ । साहित्यिक पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका प्रा डा जयराज अवस्थीलगायतको उपस्थितिमा उपन्यास सार्वजनिक गरिएको हो ।
प्राडा अवस्थीले नेपालगञ्जमा बसेर यस्ता कृति लेख्नु खुसीको विषय भएको बताए । उनले लेखक आचार्यलाई पौराणिक कथामा आधारित उपन्यासहरू लेखेरस्थापित भइसकेको उल्लेख गर्दै अब सामाजिक विषयवस्तुमा केन्द्रित कृति लेख्न सुझाव दिए ।
सङ्घका अध्यक्ष राधेश्याम लेकालीले लेखक आचार्यको पौराणिक उपन्यासबारे चर्चा गरे । उनले ‘जरत्कारू’ र ‘परशुराम’ जस्ता पौराणिक उपन्यास लेखेर चर्चा बटुलेकी लेखकलाई अब सीता, सुपर्णखा र दुर्गाबारे पनि कलम चलाउनु आग्रह गरे ।
समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले लेखक आचार्य पौराणिक विषयवस्तुमा आधारित उपन्यास लेखनमा स्थापित भइसक्नुभएको बताए । समालोचक ज्ञानु अधिकारीले कतिपय कृतिका सन्दर्भमा लेखकले भन्न चाहेको र पाठकले पढ्न चाहेको कुरा फरक हुने सुनाए । समालोचक प्रमोद प्रधानले लेखकले उपन्यासका लागि विषयवस्तु र पात्रको चयन गर्दा आफ्नो विशिष्टता देखाएको धारणा राखे।
उपन्यास अहिल्याका सम्पादक समेत समेत रहेका लेखक तथा पत्रकार राजकुमार बानियाँले किरण आचार्यका अन्य अरू कृतिहरू पनि आफूले सम्पादन गर्ने मौका पाएको र उनका पौराणिक उपन्यासहरू ज्यादै राम्रो हुने गरेको बताए । उपन्यासकार आचार्यको यो नवौँ कृति हो ।
लेखक आचार्यले कसैलाई नराम्रो बनाउनुछ भने स्त्रीलाई प्रयोग गर्ने गरेको पौराणिक इतिहास रहेको उल्लेख गरे ।
त्यस अवसरमा साहित्यकार तारा निरौलालाई सम्मान समेत गरिएको थियो । साथै कलाकार नरहरि प्रेमीले इन्द्र र अहिल्याबारेमा गीत गाएका थिए । कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, समालोचकत्रय प्राडा गोविन्दमानसिंह कार्की, प्रमोद प्रधान तथा ज्ञानु अधिकारीलगायत स्रष्टा समाज नेपालका अध्यक्ष ओम श्रेष्ठ, शिखा बुक्स प्रालिका अध्यक्ष पुष्पराज पौडेल समेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी सर्जकहरु मदनदास श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, विमल भौकाजी, दिव्य गिरी, रुद्र अधिकारी, श्रीबाबु कार्की, सुभाषचन्द्र पौडेल, राजेश खनाल, प्राज्ञ हंसावती कुर्मी, कल्पना खरेल, मदुसूदन पाण्डे, कृष्ण केसी, प्रा जनार्दन आचार्य, लता केसी, मनिषकुमार शर्मा, मीठु श्रेष्ठ, ममता कार्की, गजेन्द्रमान पति, देवेन्द्र सहकारी, विक्रम पोखरेललगायतको उपस्थिति थियो ।