गण्डकी प्रदेश

समाजले स्वीकार्ने काम गर्न सकियोस्

२७ साउन, चितवन । भरतपुर महानगरपालिका–१५ मङ्गलपुर निवासी मिलन र निर्मला बाँस्तोलाको जोडी अहिले समाजका लागि उदाहरणीय रुपमा देखिएको छ । उनीहरु महिला समलिङ्गी लेस्बियन जोडी छन् । मिलन श्रीमान् र निर्मला श्रीमतीका रुपमा एकै घरमा बस्दै आएको आज २४ वर्ष भयो ।

सानै उमेरदेखि केटीप्रति आकर्षित मिलन आफू १५ वर्षको भएपछि अझै बढी आकर्षण बढ्न थालेको बताउछन् । अन्ततः आफूले महिला साथीसँग वैवाहिक जीवन बिताइरहेको उनी सुनाउछन् । ५२ वर्षीय मिलनले यसअघि पनि एक महिलालाई आफ्नो श्रीमतीका रुपमा ल्याएर राखेका थिए। उनले पहिलो साथीका रुपमा ल्याएकी महिलाले छोडेर गएपछि अहिले निर्मलासँग जीवन बिताउन लागेका हुन् ।

बाबा आमाले पुख्र्यौली सम्पत्तीस्वरुप दिएको छ कठ्ठा जग्गामा खेतीकिसानी गर्दै आएको यो जोडीले अहिले म्याजिक भ्यान खरिद गरेर सञ्चालन गर्दै आएको छ । चालक राखेर म्याजिक सञ्चालन गर्दै आएको यो जोडी समाजमा परिवर्तन ल्याउन लागिरहेको छ ।

होचो कद, कपाल काटेको हेर्दा कसैले महिला हुन भन्ने भानसमेत नहुनेगरी हिँड्ने मिलन बिहान घरायासी काम सकेर सामाजिक काममा लाग्छन् । उनले भने, “हामी खुसी छौँ । समाज परिवर्तन हुँदै जान्छ । समाजले छि भन्ने नभए पुग्छ ।” म्याजिक भ्यानबाट दैनिक एक हजार पाँच सय कमाइ हुन्छ र त्यही कमाइबाट उनीहरुको परिवार चल्दै आएको छ ।

उनको साथी निर्मला ४२ वर्षको छन् । उनले पनि मिलनलाई साथ दिँदै आएका छन् । महिलामहिलाले विवाह गरेर बसेको कमै मात्र हुन्छन् । आफूहरु दुवै जना महिला भएर विवाह गरेर एउटै घरमा बस्ने र ससुराली, माइत जाने आउने गरेको निर्मलाले बताए । निर्मलाले मिलनको सामाजिक काम र व्यवसायलाई सहयोग गर्दै आइरहेका थिए ।

उनले भने, “मिलन टोल, छरछिमेकलगायत विभिन्न ठाउँको काममा जाँदा मैले घरमा छोरी पढाउनेदेखि सबै काम गर्छु ।” उनीहरुले १५ वर्षअघि भरतपुर अस्पतालमा एक शिशुलाई ल्याएर संरक्षकका रुपमा राख्दै आएका छन् । छोरी अहिले कक्षा दशमा पढ्छिन् । छोरीलाई हुर्काउन दुवैले समाजसँग सङ्र्घष गर्दै अघि बढेको बताउँदै निर्मलाले बच्चाको जन्मदर्ता बनाउन १२ वर्ष लड्नुपरेको सुनाए । विवाह दर्ताको प्रक्रियामा रहेको यो जोडीले छोरी ८ कक्षामा पढ्ने समयमा संरक्षकको नामबाट जन्मदर्ता गराएको हो ।

आफू लेस्बियन भएको थाहा पाएपछि परिवारबाट गाली गर्ने गरेको भए पनि अहिले आफ्नै काम गरेर खान थालेपछि समाजले हेर्ने दृष्टिकोणमा फरक आएको पाएको मिलनले बताए । उनले भने, “हामीले समाजलाई हेर्न लायक काम नगर्ने हो भने हामीलाई कसैले वास्ता गर्दैनन् ।” अहिलेसम्म समाजले आफूलाई स्वीकार गरेको बताउँदै उनले भने, “समाजले ‘छि’ भन्ने भएर नहिँडे समाज परिवर्तनशील छ । सहर्स स्वीकार गर्छ ।”

केही नगरी घरमा बस्यो भने समाजले हेप्ने हुँदा यो जोडीले यसअघि कुखुरापालन, भैँसीलगायत व्यवसाय गर्दै आएको थियो । मिलन र निर्मलाले छोरीको भविश्य उज्ज्वल बनाउन आवश्यक ठानेका छन् । दिनरात मेहनत गरेर छोरीको पढाइमा लागेको यो बाँस्तोलको जोडी भविष्यको छोरीले दुःख पाउछिन् कि भन्ने चिन्तामा छ ।

यस्तै उदाहारणीय पात्र बनेको छ भरतपुर महानगरपालिका–३ मा व्यवसाय गर्दै आएकी सुनिता पौडेल । उनले आफू १६ वर्षको हुँदा लेस्बियन भएको थाहा पाएपछि घरबाट आएर व्यवसाय गर्दै आएको बताए । किराना व्यवसाय गर्दै आएकी पौडेल समाजले पच्ने काम ग¥यो भने आफूहरुलाई पनि समाजले पचाउने बताए ।

उनले यो व्यवसाय सुरु गरेको १८ वर्ष भएको छ । आफूसँग बस्ने साथी पाट्नर अहिले आफूलाई छोडेर गए पनि एक्लै व्यवसाय सञ्चालन गर्दै आएको उनले बताए । ४१ वर्षीय पौडेल सुरुआतमा आफूलाई समाजले के भन्छ कि भन्ने डरले बाहिर निस्कन डराएको भए पनि समाजमा केही गर्नुपर्छ भनेर आफू लागेकाले अहिले पहिलाको जस्तो समस्या नभएको बताउछन् । लामो समयसँगै बसेको साथीले विगत पाँच वर्षदेखि आफूलाई छोडेर गए पनि उसको प्रतीक्षामा आफू बसिरहेको उनले सुनाए ।

अहिले जिल्लामा महिला समलिङ्गी खुलेका जोडी १० वटा रहेका छन् । उनीहरुले आफ्नो व्यवसाय गरेर जीविकोपार्जन गर्दै आइरहेका छन् । मानव सचेत समाज चितवनका कार्यक्रम संयोजक देव श्रेष्ठका अनुसार जिल्लामा चार हजार पाँच सय हाराहारीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय रहेका छन् । जसमध्ये २० जोडी तेस्रोलिङ्गी र चार जोडी पुरुष समलिङ्गी खुलेर आएका उहाँले जानकारी दिए । उनका अनुसार तीमध्ये दुई महिला समलिङ्गी र एक पुरुष समलिङ्गी जोडीले विवाह दर्ता गरीपाउँ भनी स्थानीय तहमा निवेदन दिएका छन् ।