साहित्य

बैजनी छाता …

प्रदीप ढकाल -कविता

बर्षादको झरीमा सँगै हिँडिरहँदा
उनले बैजनी छाता उघारिन्
छाताले मलाई भिज्न दिएन
तर उनी निथ्रुक्क थिइन् ….


अस्तित्व बोल्यो –
यही त प्रेमको स्वरुप हो
तर, छाताको अहंकार गुञ्जियो –
समीप हुन नचाहेर
निथ्रुक्क भएको पनि हुन सक्दछ …


कटु वाणीसँगै
छाता बन्द भयो
तर प्रेमको प्रश्न रहिरह्यो –
मिलनको आशा खरानी बनाएर
सपनाको अस्तु बोकी
स्मृतिका लहरमा लहरिँदै
बर्षातको झरीसँगै झमझम बर्षिंदै
प्रेमको प्रश्न बोकी टुप्लुक्क आइपुग्दछ
त्यो बैजनी छाता –
प्रेमलाई नै लक्ष्य मानेर
जीवनको मार्गमा हिँडिरहँदा
अनायासै, लक्ष्यले छाडेर गइसकेपछि
मार्गमा नै आँफूलाई भुलाउँदै
स्मृतिमा हराउँदछन् प्रेमीहरु –
आँखा खोल्नासाथ सम्झिने
आँखा बन्द गर्दा समीप देखिने
सपनीमा पनि मुस्काइदिने
सिरानीमा लुटुपुटु परेर
कल्पनामा हराइदिने
ती मीठा पल उनका हुन्
ती उनका पल मेरा हुन्
ती साथ नभएका पल,
ती नछोइएका पल हाम्रा हुन् …


देहको बन्धन होइन
बन्धनको बाहु होइन
जीवनभर नभेटिएरै
जीवनभर नदेखिएरै
पलप्रतिपलमा प्रेम प्रवाह भइरहन्छ –
नभेटिएका, नदेखिएका र नछोइएका
सम्पूर्ण पलहरु हाम्रा हुन् …


युगौँ साथको सपना,
सपना नै रहोस्
सपना पूरा भयो भने
वर्तमान पो बन्दछ त –
अनि, भाँडा बजाउने,
ढोका बजार्ने दैनिकीमा
प्रेम बिलाउँदछ …


आकाशको चन्द्रमा पनि
भान्सामै आइपुग्दछ
भाँडा मस्काउन
गृहस्थी जीवनको स्वरुपमा …


मिलन त प्रेम नै होइन नि,
त्यो त सम्बन्ध पो हो त
बिछोड पो त प्रेम हो
जुन जीवनभर रहिरहन्छ
भौतिक मिलन नहुनु,
मिलनको अपेक्षा नहुनु नै प्रेम हो …


शरीरको घर्षणमा होइन,
अस्तित्वको मिलनमा प्रेम पूर्ण हुन्छ …


त्यसैले त,
युगको लामो अन्तरालमा
बर्षादको झरीसँग भलाकुसारी गर्दै
अस्तित्व बोल्दछ –
त्यो निथ्रुक्क अवस्था प्रेम थियो
आफू रुझेर पनि
अर्कोलाई ओत लगाउनु प्रेम थियो …