२९ साउन, वीरगञ्ज । वीरगञ्जको नारायणी रङ्गशाला मर्मतका लागि आवश्यक बजेट व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग माग गरिएको छ ।
खानेपानी मन्त्री प्रदीप यादवसहित पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा गएको टोलीले आज खेलकुदमन्त्री चौधरीलाई भेट्दै नारायणी रङ्गशालाका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गरेको हो ।
खानेपानी मन्त्री यादवले आफ्नो गृहजिल्ला नारायणी रङ्गशालाको गौरवशाली इतिहास र पहिचान रहेकाले पनि यथाशीघ्र मर्मतको काम अघि बढाउन अनुरोध गरेको भएको जनाइएको छ । “नारायणी रङ्गशालाको जीर्णोद्धारका लागि जग्गा विवाद समाधान गर्न आवश्यक मुआब्जा वितरण प्रक्रिया अघि बढाउन पनि जरुरी देखिएको छ”, उनले भने, “हामी एकापसमा समन्वय गरेर सहकार्य पनि गर्न सक्नेछौँ ।”
युवा तथा खेलकुद मन्त्री चौधरीले वीरगञ्जको इतिहाससँग जोडिएको नारायणी रङ्गशालाको पुनःनिर्माणका लागि आफूले हरेक सम्भव पहल गर्ने प्रतिबद्धता जनाए । उनले जग्गा विवाद समाधान गर्न मुआब्जा वितरण प्रक्रिया अघि बढाउन पनि अर्थ मन्त्रालयसँग समन्वय गर्ने जानकारी दिए ।
पर्सा क्रिकेट सङ्घका अध्यक्ष अध्यक्ष मनिष सिंहले २०४२ सालमा निर्माण भएको रङ्गशाला मर्मतसम्भारको अभावमा अहिले जीर्ण अवस्थाबाट गुज्रिरहेको बताए । “नारायणी रङ्गशाला १८ विघा क्षेत्रफलमा फैलिएको छ । तर, पुरानो प्याराफिट ठाउँ–ठाउँमा भत्किएर कामै नलाग्ने अवस्थाबाट गुज्रिरहेको छ”, उनले भने, “जतिसक्दो चाँडो नारायणी रङ्गशालाई पहिलाकै अवस्थामा फर्काउन जरुरी भइसकेको छ ।”
अध्यक्ष सिंहले नारायणी रङ्गशालासँगै रहेको नारायणी क्रिकेट मैदानलाई पनि व्यवस्थित गराउनका लागि अनुरोध गरेको बताए । रङ्गशालामा करिव ३५ हजारभन्दा धेरै दर्शक अट्ने प्याराफिट छ । हाल रङ्गशाला वरपरका पर्खाल भत्किएर जीर्ण अवस्थामा छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले पाँच वर्षअघि रङ्गशालाको जीर्णोद्धार र पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर समेत निर्माण गरेको थियो । तर, बजेट अभावकै कारणले काम अघि बढ्न सकिरहेको छैन ।