२९ साउन, रुपन्देही । सैनामैना नगरपालिका–६ बैकुण्ठपुर धान र मकै खेतीका प्रचुर सम्भावनायुक्त क्षेत्र हो । तराई र पहाड दुवैको सङ्गमस्थल बैकुण्ठपुरमा चैते धानको सम्भावना देखेर नै यसलाई ब्लक क्षेत्र बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ भैरहवाले लगानी गरेको छ ।
परियोजनाले .एक लाख ६० हजार लगाएर बनाएको सामुदायिक कुलोको कारण अहिले बैकुण्ठपुरका किसान लाभान्वित भएका छन् । चैते धानलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित .पाँच लाख ४८ हजारमा निर्माण गरिएको डाँडे कुलोले मकै उत्पादन ह्वात्ते बढाइएको छ ।
यसअघि पनि सैनामैना नगरपालिकाले यस क्षेत्रमा मकै प्रवर्द्धन गर्दै आएको थियो । बैकुण्ठपुर कृषक समूहका अध्यक्ष भूपराज बस्यालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले नगद अनुदान प्राविधिक सहयोग उपलब्ध गराउँदा मकै उत्पादन बढेको बताए । “पोहोर, पोहोर साल हामीले मकै रोप्दा पाँचरछ क्वीण्टल बढी उत्पादन हुन्थ्यो,” बस्यालले भने, “अहिले यो कुलोको प्रयोगले छ गुणाभन्दा बढी मकै उत्पादन भयो, अहिले ५० देखि ६० क्वीण्टलसम्म हामीले उत्पादन ग¥यौँ ।” उनले यसअघि बोरिङबाट पाइपको माध्यमले सिँचाइ गर्दा महँगो हुने गरेको स्मरण गरे । “कुलो बनेपछि हाम्रो सिँचाइको समस्या दीर्घकालीन रूपमा फलदायी भएको छ,” बस्यालले भने, “यसले सबै खेतलाई सिँचित गरेको छ ।”
परियोजनाअन्तर्गत वर्षे कुलोभन्दा ठीकमाथि डाँडे कुलो बनाइएको छ । खोलामा ईङ्गुरिया खोलाको पानी पनि आउने र अन्य समय बोरिङको माध्यमबाट कुलोमा पानी ल्याउने व्यवस्था रहेको अध्यक्ष बस्यालले बताए । प्रत्येक खेतमा पानी पुग्ने र ट्रयाक्टर लैजादा कुलोलाई नोक्सानी नहुने गरी निर्माण गरिएको उनले बताए । सामुदायिक सिँचाइ पूर्वाधार निर्माणअन्तर्गत करिब छ सय मिटर कुलो निर्माण गरिएको छ । यसले २५ हेक्टरभन्दा बढी क्षेत्रफलमा प्रर्याप्त सिँचाइ गर्ने र यसले धान, मकै र गँहुजस्ता बालीलाई सहयोग पुगेको छ ।
बैकुण्ठपुरमा चैते धान उत्पादनको प्रचुर सम्भावना देखेको र यसलाई खाद्यान्नको ब्लक बनाउन सक्ने भएकाले कुलो निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका प्रमुख नारायण काफ्लेले बताए । यो आर्थिक वर्षमा करिब एक सय हेक्टर चैते धान प्रवर्द्धन गर्ने लक्ष्य रहेकाले यसलाई पनि सम्भावित क्षेत्रको रुपमा राखिएको उनले बताए।
रुपन्देही जिल्लामा धेरै धान खेती हुने गरे पनि चैते धानको खेती गर्ने किसानको सङ्ख्या नगण्य रूपमा रहेको छ । सिँचाइको व्यवस्था नभएको र आकाशे पानीको भर पर्नुको कारण चैते धानको खेती हुने सकेको छैन । यस्तो अवस्थामा सिँचाइका साना पूर्वाधारले पनि यसको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बैकुण्ठपुर सामुदायिक कुलोले देखाएको छ ।