३० साउन, काठमाडौँ । नेपाली काँग्रेसबाट विजयी ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
ढुङ्गा, गिटी, बालुवा उत्खनन र बिक्री वितरण प्रकरणमा छुट दिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दामा परेका मेयर उपमेयरसहित १४ जनाले आज सफाइ पाएका हुन् ।
ललितपुरका प्रभावशाली नेता मानिने महर्जन गत २०७९ सालको स्थानीय चुनावमा मेयरमा निर्वाचित भएका थिए ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले भ्रष्टाचारको आरोप लागेका महर्जनसहितलाई सफाइ दिएको हो ।
भ्रष्टाचारको आरोप लाग्नेहरू कमै मात्र सफाइ पाउने अवस्था अनुसार महर्जनसहितका जनप्रतिनिधिहरूले पनि सफाइ पाएको अवस्था छ । निलम्बनमा परेका उनीहरुको सफाई पाएसँगै काम गर्ने बाटो खुलेको छ ।