सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

३० साउन, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि पेस गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णायार्थ पेस गरिँदा मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेस गरेको प्रस्तावको पक्षमा ३६ मत परेको र यो सङ्ख्या प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सङ्ख्याको बहुमत भएकाले मुख्यमन्त्रीले पेस गरेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

आजको बैठकमा प्रदेशसभा ४५ सदस्य सहभागी रहेकोमा मुख्यमन्त्रीको प्रस्तावको पक्षमा ३६, विपक्षमा आठ र तटस्थमा एक मत परेको थियो । स्वतन्त्र सदस्य डा तारा जोशीले तटस्थमा मत दिएका थिए ।

नेपाली कांग्रेस, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीको प्रस्तावको पक्षमा र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले विपक्षमा मत दिएका थिए ।

विपक्षी दल नेकपा माओवादी केन्द्रका छ सदस्य र राप्रपाका एक सदस्य आजको बैठकमा अनुपस्थित थिए । यसअघि विश्वासको प्रस्ताव पेस गर्दै मुख्यमन्त्रीले प्रदेशको समृद्धि र विकासका लागि अब धेरै पर्खिने समय नभएको भन्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिका दल र प्रदेशसभा सदस्यलाई सहकार्यका लागि आह्वान गरे ।

मुख्यमन्त्रीले भने, “दलगत सोचभन्दा माथि उठेर राजनीतिक स्थायित्व र समृद्धिका लागि विश्वासको मतका लागि आग्रह गर्दछु ।” प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले प्रतिपक्षमा बसेर रचनात्मक काम गर्ने बताए ।

धामीले मुख्यमन्त्री शाहकै नेतृत्वको यसअघिको सरकारले विकासका योजना समानुपातिक रुपमा सञ्चालन नभएको भन्दै अबको कार्यकालमा प्रदेशमा समानुपातिक रुपमा विकासका योजना सञ्चालन गर्नुपर्ने सुझाव दिए । प्रस्तावमाथि भएको छलफलमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, नेकपा एकीकृत समाजावदी का प्रकाश रावल र स्वतन्त्र सदस्य डा तारा जोशीले बोलेका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाह कांग्रेससहित एमाले, नागरिक उन्मुक्ति पार्टीका सदस्यको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यही साउन २० गते नियुक्त भएका थिए । सोही धाराको उपधारा ९४० बमोजिम मुख्यमन्त्रीले आज विश्वासको मत लिएका हुन् । शाह दोस्रो पटक प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यसअघि विसं २०७९ माघ २७ गते माओवादी केन्द्र नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समेत समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

केन्द्रमा फेरिएको समीकरणसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले गत चैत २२ गते पदबाट राजीनामा दिएका थिए । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रको सभामुखबाहेक १०, एमालेको ११, नागरिक उन्मुक्ति पार्टीको सात, एकीकृत समाजवादी पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।