३१ साउन, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होमस्टे घरबासमा पारिवारिक वातावरण हुनुपर्ने बताएका छन् ।
महिला उद्यमी महासङ्घको आयोजनामा बागलुङका होमस्टे सञ्चालक महिलालाई दिइएको १५ दिने सिकाइ तालिम तथा अनुभव आदानप्रदान कार्यक्रमको आज पोखरामा समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा उनले होमस्टेमा संस्कृति र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री पाण्डेले भने, “होमस्टेमा बजारबाट चाहिने तरकारी लगायतका सामग्री लाने गरिएको छ । यसरी चल्दैन र होमस्टे हुँदैन । स्थानीय उत्पादन र स्थानीय संस्कृति नभएका होमस्टेलाई अबदेखि अनुदान दिँदैनौँ ।”
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले महिला उद्यमशिलता र क्षमता विकासका लागि सहयोग गर्दै आएको बताए । उनले महिलाको जीवनस्तर माथि उठाने र आत्मनिर्भर बनाउने कार्यक्रम आवश्यक रहेको बताए । “प्रदेश सरकारले महिलालाई आत्मनिर्भर बनाउँदै सशक्तिकरणमा सहयोग पुग्ने खालका कार्यक्रममा सहयोग गर्नेछ”, उनले भने ।
महिला उद्यमी महासङ्घ नेपालका अध्यक्ष शोभा ज्ञवालीले महिलाको उद्यमशिलता विकासमा धेरै नै चुनौतीको रहेको बताए । सामाजिक र पारिवारिक जिम्मेवारीले महिला उद्यमशीलतामा विकासमा अवरोध पुग्ने गरेको उनले चर्चा गरे । महासङ्घले ‘डिजिटल मार्केटिङ’का लागि कार्यक्रम गर्दै आएको ज्ञवालीले बताए ।
“महिलालाई उत्पादनमा जोड्ने र ती उत्पादित सामग्रीको बजारीकरणमा सघाउनका लागि महासङ्घले ‘डिजिटल मार्केटिङ’ का लागि ‘डिजिटल लिट्रेसी’ कार्यक्रम आयोजना गर्दै आएको छ”, उनले भन । महासङ्घले बागलुङको भकुण्डे सामुदायिक होमस्टे र अतिथि सत्कार होमस्टेका सञ्चालक तथा होमस्टे सञ्चालन गर्न इच्छुकलाई दुई साताको व्यवसायको ‘डिजिटाइजेशन’ सम्बन्धी तालिम दिएको थियो ।