सुदूरपश्चिम

‘वल्के’ पर्वको चहलपहल सुरु

३२ साउन, कैलाली । सुदूरपश्चिम प्रदेशमा ‘वल्के’ पर्वको चहलपहल सुरु भएको छ । भाद्र सङ्क्रान्ति अर्थात् भदौ १ गतेका दिन मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात् ‘उपहार’ भन्ने बुझिन्छ ।

सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारीका लागि सामग्री किनमेल गर्न बजारका पसल पसलमा स्थानीयको जमघट बाक्लिएको छ । विभिन्न थरीका पाकवानका लागि सामग्री किनमेल गर्नेको भ्याइनभ्याइ छ । कृषि उपज हाट बजारमा पनि तरकारी किन्ने ग्राहकको उत्तिकै चाप देखिन्छ ।

पर्व सुरु भएसँगै बर्सात सकिने र हिलोमैलो पखालिने विश्वासका साथ आज बिहानदेखि घर, आँगन सरसफाइ गर्ने, लुगाफाटा धुनेलगायत क्रियाकलापमा घरपरिवारका सदस्यहरु जुटेको पाइन्छ । गाउँघरतिरका स्थानीय कुटानी– पिसानीका लागि मिल धाउने काममा व्यस्त देखिन्छन् । काम विशेषले तथा अध्ययन गर्न घरबाहिर रहेकाहरु पनि यो चाड मनाउन घर फर्किन थालेका छन् ।

यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीहरुलाई सगुनका रुपमा दूध, दही र पिँडालुको कलिलो पात अर्थात् ‘गाभा’, हरियो साग दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने मौलिक परम्परा रहिआएको धनगढी उपमहानगरपालिका–२ का स्थानीय द्धिजराज अवस्थीले जानकारी दिए ।

उनले भने, “विवाहित छोरीलाई माइतीमा आमन्त्रण गरी स्थानीय खानाका परिकारहरु लाउन, बावर, गतानी डुब्का, बटुक, मासे माणालगायत परिकारहरु पकाएर खुवाउने र खाने प्रचलन छ ।”

त्यसैगरी, गाउँघरतिर गाईभैँसीको दूध, दही जसका घरमा छैन त्यो घरमा गोरस भएकाहरुले दूध, दही, मही बाँड्ने चलन समेत रहेको छ । यो प्रचलन भने पछिल्लो समय बिस्तारै कम हुँदै गएको छ ।

यस चाडमा गाउँघरका युवायुवतीका दौँतरीहरु समूहमा जम्मा भएर पिङ खेल्ने, देउडा खेल्ने, ठाडी भाका तथा लोकलयमा गीत गाउने लगायतका क्रियाकलाप पनि गर्ने गरेको स्थानीय अगुवा नवराज भट्टले बताए । “सहर बजार आसपासका क्षेत्रका भने केही फरक किसिमबाट मनाउने गरेको पाइन्छ”, उनले भने ।

पछिल्लो समय भने यो पर्वको महत्व तथा विशेषताबारे पाको उमेरका मानिसहरु जानकार रहे पनि नयाँ पुस्ताका युवायुवतीमा भने आजभोलि यो चाडले खासै प्राथमिकता पाउन नसकेको भट्टको भनाइ छ । यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउ, गडवाललगायत स्थानमा पनि मनाउने गरिएको छ ।