साहित्य

साहित्यमा ‘आफूविरूद्ध आफैँ’ अभियान सुरू

१ भदौ, काठमाडौँ । साहित्यमा क्रियाशील स्रष्टाहरूले आजदेखि काठमाडौँमा ‘आफूविरूद्ध आफैँ’ अभियान सुरू गरेका छन् । आज यहाँ आयोजित एक कार्यक्रमबीच स्रष्टाहरूले अभियानको सुरुआत गरेका हुन् ।

अभियानले समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श, लेखनको विषय वस्तु र शिल्प विन्यासमा नवीनताको खोजी तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्मसमीक्षा गर्ने गरी अभियान सुरू गरिएको साहित्यकार आरएम डङ्गोलले जानकारी दिए । साहित्यकारहरू प्रशंसाको भोका हुन्छन् भन्ने मान्यतालाई चिर्दै अभियान अघि बढाइएको उनले बताए । अभियानका लक्ष्य र उद्देश्यबारे प्रकाश पार्दै डङ्गोलले भने, “यो अभियान कसैप्रति लक्षित छैन, आफ्नै लेखनप्रति लेखकहरू जिम्मेवार हुनपर्छ भन्ने उद्देश्य हो ।”

उनकानुसार अभियानको संयोजकमा साहित्यकार नवराज रिजाल, सदस्यमा आरएम डङ्गोल, छविरमण सिलवाल, होमशङ्कर बास्तोला, दीपक विहीन, बोधराज पौडेल र प्रतिरोध कार्की छन् ।

अभियान घोषणा कार्यक्रममा सदस्य बास्तोलाले अभियानको उद्देश्य, लक्ष्य र गन्तव्यबारे जानकारी गराउँदै समसामयिक र समकालीन नेपाली साहित्यिक लेखनमा लेखकहरू स्वयम् जिम्मेवार हुनुपर्ने धारणा राखे । अभियानको पहिलो दिन आज कवि प्रतिरोध कार्कीको ‘घामको पहाड’ कविता सङ्ग्रहमाथि प्रमुख वक्ताका रूपमा साहित्यकार डङ्गोलले समीक्षा गरेका थिए । उनले यसभित्र रहेका कवितामाथि टिप्पणी गर्दै लेखकलाई भरपुर लेखकीय सुझाव दिए । समीक्षक बोधराज पौडेल, होमशङ्कर बास्तोला, छविरमण सिलवाल, दीपक विहीनले कृतिमाथि टिप्पणी गरेका थिए ।