पर्यटन/संस्कृति

पर्यटन मन्त्रीसँग सीएनआई पर्यटन समितिको छलफल

२ भदौ, काठमाडौँ । नेपाल उद्योग परिसङ्घ सीएनआई अन्तर्गतको पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गरेको छ ।

आज सिंहदरबारमा पर्यटनमन्त्रीलाई बधाइ तथा शुभकामना दिँदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनःस्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याइनुपर्नेमा जोड दिएको छ ।

यस्तै हवाई दुर्घटना न्यूनीकरण, दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समय सम्बन्धमा पनि सुझाव दिइएको थियो ।

सो अवसरमा पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागि कामको प्राथमिकता हेरेर अगाडि बढ्ने बताए ।

उनले विसं २०८३ भदौसम्ममा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान हुनेगरी काम गरिरहेको जानकारी दिए । नेपाल एयरलाइन्सलाई सबल बनाउने विषयमा थप छलफल तथा सल्लाह सुझाव लिँदै अगाडि बढ्ने उनको भनाइ थियो ।

परिसङ्घका उपाध्यक्ष राजबहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकाले यस क्षेत्रको विकासका लागि नयाँ नीति ल्याउन जरुरी रहेको बताए । पर्यटन क्षेत्रका समस्याबारे जानकारी गराउँदै उनले समाधानका उपायसमेत सुझाए ।

छलफलमा समिति सदस्य रवीचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयावधि १४ घण्टाबाट बढाएर १६ घण्टा बनाउन आग्रह गरे । पर्यटकीय मौसम भएकाले सो मितिदेखि राति १० बजेसम्म सञ्चालन हुने भनिएको समयावधि बढाएर राति १२ बजेसम्म गर्न उनले आग्रह गरेका हुन्। उनले हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि करलाई पुनरावलोकन गर्न जरुरी रहेको बताए ।

सो अवसरमा परिसङ्घ पर्यटन समिति सभापति पम्फा धमला, सदस्य हिक्मत सिंह ऐर, तिलक लामा, दीपकराज जोशीलगायतले सुझावसहित बधाई तथा शुभकामना व्यक्त गरेका थिए।