४ भदौ, कर्णाली । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले सङ्घीयताविना जनताको अधिकार सुनिश्चित हुन नसक्ने बताएका छन् ।
‘नवौँ कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८१’ को अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले जनताको सङ्घर्ष र बलिदानबाट मुलुकमा संविधान र सङ्घीयता आएको बताए । उनले भने, “कर्णाली अधिक साधन स्रोतले भरिपूर्ण प्रदेश हो । यसको भरपूर उपयोग हुन जरुरी छ । भाषा, संस्कृति र सभ्यताको उद्गमस्थल कर्णालीको विकासमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।”
ताल तलैया, हिमश्रृङ्खला, हरिया जङ्गल, महँगा जडीबुटी यार्सा, धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक रूपले सम्पन्न कर्णालीलाई गरिबी, अशिक्षा, भोकमरी र अभावको गलत भाष्य दिएर चिनाउनु दुःखद् भएको उनको भनाइ थियो । कृषि, प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनमार्फत कर्णालीको आर्थिक समृद्धि गर्न सकिने उनको विश्वास छ ।
प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले राजकीय जस्तो नभई जनताको प्रत्यक्ष सहभागितामा प्रदेश स्थापना तथा सहिद दिवस मनाउन सक्ने अवस्था सिर्जना भए सङ्घीयताको अनुभूति हुने जनाए । “एक दुईको जना होइन, हजारौँ जनताको अथक प्रयासबाट कर्णाली कान्छो प्रदेशका रुपमा स्थापित भएको हो,” उनले भने, “जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको बलिदानीपूर्ण योगदानलाई इतिहासले कालान्तरसम्म स्मरण गरिरहने छ ।”
मुख्यमन्त्री कँडेलले चार सहिदका परिवारका एक एक जना सदस्यलाई रोजागर दिनेगरी प्रदेश सरकारले निर्णय गरेको बताए । सबै क्षेत्रमा सुशासन कायम, नागरिकलाई शान्ति, सुरक्षा र अधिकारको उपयोग एवं सुरक्षित गराउन सकिए सहिदको सपना पूरा हुने र जनताको सङ्घर्ष र आन्दोलनले सार्थकता पाउने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।
सीमाङ्कनको विषयलाई लिएर विसं २०७२ साउन २३ गतेदेखि भदौ ४ गतेसम्म भएको कर्णाली आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजवारको निधन भएको थियो ।