४ भदौ, पोर्चुगल । पोर्चुगलको राजधानी लिस्बनस्थित अवैतनिक महावाणिज्य दूतावास बन्द हुँदा यहाँ रहेका नेपालीले समस्या खेप्नुपरेको छ । महावाणिज्य दूतावास बन्द हुँदा प्रहरी चारित्रिक प्रमाणपत्र प्रहरी रिपोर्ट लगायतका कागजात प्रमाणीकरणमा सास्ती खेप्नुपरेको पोर्चुगलवासी नेपालीले गुनासो गरेका छन् ।
उनीहरूले पोर्चुगलमा दूतावास स्थापना नभएसम्मका लागि लिस्बनबाटै कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा सञ्चालन गर्न माग गरेका छन् । कागजात प्रमाणीकरणको समस्याले पोर्चुगल बसाइको वैधानिकताको प्रक्रियामा रहेका हजारौँ नेपाली प्रभावित भएका छन् ।
लिस्बनबाटै प्रवाह हुँदै आएको सेवा बन्द भएपछि विशेषतः यहाँको आवास अनुमतिपत्र रेसिडेन्सी कार्ड का लागि आप्रवासी मामिला हेर्ने निकाय आइमामा बायोमेट्रिकको तयारीमा रहेका नेपाली बढी मारमा परेका छन् । यहाँको कागजी प्रक्रियाको प्रयोजनका लागि नेपालबाट ल्याइने प्रहरी चारित्रिक प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्ता लगायतका कागजात प्रमाणीकरणको सेवा लिस्बनबाट नपाउँदा यहाँ रहेका नेपालीले सास्ती भोग्नुपरेको हो ।
महावाणिज्य दूतावास बन्द हुँदा कागजात प्रमाणीकरणका लागि समस्या झेल्नुपरेको इलामका हरिबहादुर मुखियाले बताए । आवास अनुमतिपत्रका लागि पेस गर्नुपर्ने प्रहरी रिपोर्टको प्रमाणीकरणको झन्झटले तनाव बनाएको मुखियाले गुनासो गरे । “यही सेप्टेम्बरको पहिलो साता मेरो बायोमेट्रिक छ । मेरा धेरै साथीहरूको पनि यही सेप्टेम्बरमै बायोमेट्रिक छ । दुई वर्षदेखि कार्डको पर्खाइमा थिए । अब त कार्ड बन्ने भयो भनेर खुसी भएको कागजात प्रमाणीकरणको झमेलाले हैरानी खेप्नुपरेको छ”, मुखियाले रासससँग दुःख व्यक्त गरे ।
उनले थप भने, “अहिले नेपाली दूतावास पेरिसले प्रमाणीकरण गरिदिने भएपछि केही राहतको अनुभूति गरेको छु । दस्तुर त साह्रै महँगो रहेछ । १२ युरोमा हुने कामको लागि एक सय युरो तिर्नुपर्ने भएछ । प्रमाणीकरण भएपछि फेरि मगाउनु प¥यो । त्यसमाथि कुरियर खर्च पनि थपिने भयो । साह्रै झन्झट हुने भयो ।”
बुटवलका हरिप्रसाद पाण्डेको समस्या पनि उस्तै छ । फ्रान्स हुँदै दुई वर्षअघि पोर्चुगल आएका पाण्डेको पनि यही सेप्टेम्बरमा बायोमेट्रिकको मिति तय भएको छ । पेस गर्नुपर्ने सबै कागजपत्र तयार भए पनि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरण रोकिँदा दुई साता रनभुल्लमै बितेको पाण्डेले सुनाए । “प्रमाणीकरणको काम रोकिएपछि नेपालबाट मगाएको प्रहरी रिपोर्ट दुई सय युरो खर्चेर केही दिनअघि दलालमार्फत भारत पठाउन बाध्य भए । रू दुई हजारमा हुने कामलाई रू ३५ हजार खर्च गर्नुपर्यो । यो त साह्रै झन्झटिलो र खर्चिलो भयो । त्यसमाथि प्रमाणीकरणको तनावले हैरानी खेप्नुपर्यो । वाणीज्य दूतावास बन्द हुँदा हामीले पो सास्ती भोग्नुपर्यो,” आफ्ना पीडा सुनाउँदै पाण्डेले भने ।
मुखिया र पाण्डेको जस्तै कागजात प्रमाणीकरणको समस्याले सर्लाहीका बिक्रम आले पनि तनावमा परे । दूतावास बन्द हुँदा कागजात प्रमाणीकरणमा समस्या भएको आलेले गुनासो गरे । आवास अनुमतिपत्रका लागि बायोमेट्रिकको तयारीमा रहेका आलेले पनि एक साता अघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न दलालमार्फत भारत पठाएको बताए । सबै कागजात तयार नै थियो । “अकस्मात् महावाणिज्य दूतावास बन्द हुँदा प्रमाणीकरण कहाँ गएर कसरी गर्ने भन्ने अन्योलमा पारियो”, उनले भने । कागजात प्रमाणीकरणका लागि भारत पठाउनु पर्दा धेरै खर्चिलो भएको आलेले दुःखेसो गरे ।
यसैबीच फ्रान्सको पेरिसस्थित रहेको नेपाली दूतावासले शुक्रबार एक सूचना जारी गर्दै पोर्चुगलका नेपालीलाई कागजात प्रमाणीकरणको सेवा दिने जानकारी दियो । जसमा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरे बापतको दस्तुर एक सय युरो अर्थात् झण्डै १४ हजार सात सय रूपैयाँ लाग्ने दूतावासले उल्लेख गरेको छ । दूतावासले भने सोही प्रकृतिको प्रहरी रिपोर्टको भाषा अनुवादसहित प्रमाणीकरण गरेवापत दस्तुर १२ युरो अर्थात् झन्डै रू एह हजार आठ सय लिने गरेको थियोे । दूतावासले प्रहरी रिपोर्ट प्रमाणीकरणवापतको दस्तुर चर्को तोकेको भन्दै पोर्चुगलका नेपालीले असन्तुष्टि जनाएका छन् भने लिस्बनबाटै कन्सुलर सेवा पाउनुपर्ने माग गरेका छन् ।
नेपाल प्रहरीले प्रहरी रिपोर्ट पूर्णतः निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । त्यसमाथि विश्वको जुनसुकै मुलुकमा रहेका नेपालीले सहज र सरल रूपमा अनलाइनको माध्यमबाट प्रहरी चारित्रिक प्रमाणपत्रका लागि आवेदन दिन र अनलाइनबाटै पाउन सक्ने व्यवस्था समेत गरेको छ भने उक्त प्रमाणपत्रलाई काठमाडौँस्थित रहेको कन्सुलर विभागले समेत जम्मा पाँच सय रूपैयामै प्रमाणीकरणगरी अनलाइनबाटै सहज र सरल रूपमा सेवा उपलब्ध गराउँदै आएको छ ।
महावाणिज्यदूतावास बन्द हुँदा बायोमेट्रिकको तयारीमा रहेका हजारौँ नेपाली मारमा परेको गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार थापाले बताउनुभयो । पछिल्लो समय आप्रवासीका लागि पोर्चुगलले समेत कडाइ गरेको अवस्था छ । कागजात प्रमाणीकरणको झमेलाले नेपालीहरू थप मारमा परेका छन् । पोर्चुगलबासी नेपालीको सहजताका लागि लिस्बनबाटै कन्सुलर सेवा सुचारू हुनुपर्ने थापाको भनाइ छ । फ्रान्समा रहेको नेपाली दूतावासले कागजात प्रमाणीकरणको सेवा दिने भए पनि चर्को सेवा शुल्कका कारण पोर्चुगलका नेपाली मारमै परेको थापाले बताए ।
गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले महावाणिज्यदूतावास बन्द हुँदा कागजात प्रमाणीकरणमा समस्या देखिएको बताए । लिस्बनबाटै पाइँदै आएको सेवा बन्द हुँदा कागजात प्रमाणीकरणका लागि नेपाली दूतावास फ्रान्स र भारतको नयाँ दिल्लीस्थित रहेको पोर्चुगिज दूतावास र नेपाली दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने बाध्यता सिर्जना भएको सापकोटाले बताए । “यसले धेरै नेपालीलाई गाह्रो भएको छ । दूतावास नआउन्जेलसम्मका लागि महावाणिज्य दूतावासको सेवालाई नै निरन्तरता दिएको भए यो खालको समस्या नै आउने थिएन”, सापकोटाले भने ।