सुदूरपश्चिम

सागसब्जीका बेर्ना बेचेर प्रशस्त आम्दानी

५ भदौ, भजनी । कैलाली आफ्नो स्वामित्वमा रहेको जमिनमा सागसब्जीका बेर्ना लगाउनुभएकी टीकापुर नगरपालिका–१ वनगाँउकी सरिता चौधरी सातामा दुई दिन बेर्ना बेच्न टीकापुर कृषि बजार पुग्छन् ।

“जागिर खानलाई पढाइ छैन, खेती गर्नलाई प्रशस्त जमिन छैन । भाडामा जमिन लिएर काम गर्न लगानी छैन”, उनले भन्छीन्, “थोरै जमिनमा सागसब्जीबेर्ना उत्पादन गरेर बिक्री गर्दा घरको खर्च टरेको छ ।” उनले वर्षभरि प्रायः यामअनुसार सागसब्जीका बेर्ना उत्पादन गर्दै आएका छन् । एक कठ्ठा जग्गामा बेर्ना उत्पादन गर्दै आएकी उनले बेर्ना बिक्री गरेर वार्षिक दुईदेखि तीन लाख आम्दानी हुने गरेको बताए।

सागसब्जीका बेर्ना उत्पादन गर्ने किसानलाई कृषि हाटबजारले राम्रो साथ दिएको छ । थोरै जमिन भएकालाई पनि हाटबजारमा पाइने सागसब्जीका बेर्नाले सहज बनाएको छ । टीकापुरकै सुदेशु चौधरीले कृषि हाटबजार लक्ष्यित गरेर सागसब्जीका बेर्ना तयार पार्ने गरेको सुनाए । “हामीले बिक्री गर्ने बेर्ना व्यावसायिक कृषिखेती गर्ने किसानभन्दा घरको आँगन वरपर बचेको जमिनको सदुपयोग गर्नेले किन्ने हो”, उनले भन्छीन्, “बेर्ना बेचेर आएको पैसाले घर खर्च, बेर्ना उत्पादनका लागि लाग्ने लागतसहित थोरै भए पनि बचत हुने गरेको छ ।” वार्षिक रु चारदेखि पाँच लाखसम्मको सागसब्जीका बेर्ना आफूले बिक्री गर्दै आएको सुदेशु बताए ।

वीणा चौधरी पनि एक दशकभन्दा लामो समयदेखि तरकारीको बेर्ना उत्पादन गर्दै आएका छन् । अरुले व्यवसाय गरेको हेरेर सागसब्जीबेर्ना उत्पादन सुरु – गरेकी चौधरीले छ महिनाको सागसब्जीका बेर्ना उत्पादन तालिम नै लिएका छन् । तालिम लिएपछि व्यावसायिक रूपमा उनको परिवार नै त्यसैमा निर्भर छ । उनको फार्ममा कैलालीका विभिन्न पालिकाबाट बेर्ना किन्न आउने गरेको उनले बताए। सागसब्जी बेर्ना बिक्रीका लागि कृषि हाटबजार किसानका लागि बरदान बनेको उनले बताए । “उत्पादन भएको बेर्नाको बजारीकरणमा समस्या त छैन, तर पनि हाटबजारले बजारीकरणमा थप सहयोग पुर्याएको छ”, उनलेभन्छन् । बेर्ना बिक्रीबाट वार्षिक रु छ लाखसम्म कमाइ हुने गरेको बताए ।

सृजना चौधरीको आठजनाको परिवार तरकारीको बेर्ना उत्पादन गर्ने र बिक्री गर्नमै व्यस्त छ । हप्ताको दुई दिन सृजनाको परिवारको चारजना कृषि हाटबजारमा बेर्न बिक्री गर्न पुगेका हुन्छन् । कृषि हाटबजारमा पनि फरकफरक ठाउँमा बसेर उनीहरूले बेर्ना बिक्री गरर्छन । पाँच कठ्ठामा सागसब्जीबेर्ना उत्पादन गर्दै आएका उनका परिवारको आर्थिक स्रोतको मुख्य आधार नै तरकारीको बेर्ना हो । बेर्ना बिक्री गरेर आएको पैसाले उनको घरको हरेक खर्च व्यवस्थापन हुन्छ । “जमिन भएको भए तरकारीखेती पनि गरिन्थ्यो । भएको जमिन बेर्ना उत्पादनका लागि कम भएको छ”, सिर्जनाले भन्छीन्, “कृषि हाटबजारले हामीले उत्पादन गरेको बेर्नाले माग धान्न सकेको छैन । आवश्यकतानुसार बेमौसमी सागसब्जीबेर्ना पुर्याउन सकिएको छैन ।”

रामलक्ष्मी चौधरी गृहिणी छन् । श्रीमान् शिक्षण पेशामा हुँदा छिमेकीबाट तरकारीको बेर्ना उत्पादन गर्न सिक्नुभएकी रामलक्ष्मीले घरको खर्च टार्न श्रीमान्सँग पैसा माग्नुपरेको छैन । आफ्नो घर छेउमा रहेको एक कठ्ठा जग्गा भाडामा लिएर बेर्ना उत्पादन गर्दै आउनुभएकी रामलक्ष्मीले बेर्ना बिक्री गरेर वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेको बताए । उनले उत्पादन गरेको बेर्नाको बजारीकरणको आधार त्यहीँ कृषि हाटबजार हो ।

टीकापुरमा केही महिलाले महिला कृषि सहकारी संस्था दर्ता गरेर तरकारीको बेर्ना उत्पादन सुरु गरेका छन् । किस्निनिया महिला कृषि सहकारी दर्ता गरेर तरकारीको बेर्नासहित महिलालाई उत्पादनसँग जोड्ने प्रयास भइरहेको सहकारी संस्थाकी अध्यक्ष करिष्मा कठरिया बताए । “हामी अहिले एक सय एकजना महिला सहकारीमा आवद्ध भएर काम गरिरहेका छौँ । खासगरी महिलालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले सहकारी स्थापना गरेका थियौँ”, उनले भने “त्यसैअनुसार तरकारीको बेर्ना उत्पादन सुरु गरेका छौँ भने अन्य कृषिसँग सम्बन्धित व्यावसायिक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ ।”

टीकापुरमा हप्ताको पाँच दिन कृषि हाटबजार सञ्चालन हुँदै आएको छ । हरेक मङ्गलबार र शुक्रबार सागसब्जीका बेर्नासहित उत्पादन भएको कृषिउपज बिक्रीका लागि कृषि हाटबजार पुग्ने गरेका छन् ।
––––