गण्डकी प्रदेश

लमजुङमा एघार सय ५० पशुमा कृत्रिम गर्भाधान

८ भदौ, लमजुङ । यहाँ एक वर्षमा एक हजार एक सय ५० पशुमा कृत्रिम गर्भाधान गराएको छ । आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा किसानले पालेका यतीका पशुमा कृत्रिम गर्भाधान गराइएको भेटिरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा सुनिल न्यौपानेले बताए ।

उनका अनुसार यसमा सबैभन्दा बढी भैँसी र कम बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । पाँच सय ८८ भैँसी, पाँच सय ५९ गाई र तीन बाख्रालाई कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको केन्द्रले जनाएको छ । कार्यालयमार्फत २७ तथा अन्य गर्भाधान केन्द्रमार्फत एक सय हजार एक सय २३ पशुमा सो सेवा लागू गरिएको थियो । क्व्होलासोथार गाउँपालिका र दुधपोखरी गाउँपालिकाबाहेक अन्य छ स्थानीय तह र कार्यालय गरी सात स्थानबाट कृत्रिम गर्भाधान सेवा उपलब्ध हुँदै आएको छ ।

कृत्रिम गर्भाधान सबैभन्दा धेरै मध्यनेपाल नगरपालिकाबाट र कम मस्र्याङ्दी गाउँपालिकाबाट हुने गरेको छ । कृत्रिम गर्भाधान सेवा दिनका लागि १७ जना कृत्रिम गर्भाधान कर्ता खटाइएको केन्द्रका निमित्त प्रमुख न्यौपानेले बताए ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा एक हजार सात सय ६२ पशुमा कृत्रिम गर्भाधान गराइएको थियोे । यसमा नौ सय ४४ गाई, आठ सय १६ भैँसी र दुई बाख्रालाई कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको उक्त कार्यालयले जनाएको छ । कार्यालयमार्फत २२ तथा अन्य गर्भाधान केन्द्रमार्फत एक हजार सात सय ४० पशुमा सो सेवा लागू गरेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा दुई हजार एक सय ८५ पशुमा कृत्रिम गर्भाधान गराएको थियो । एक हजार ९८ गाई, एक हजार ७२ भैँसी र १५ बाख्रालाई कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको थियो । कार्यालयमार्फत ५५ तथा अन्य गर्भाधान केन्द्रमार्फत एक हजार एक सय ३० पशुमा सो सेवा लागू गरेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा दुई हजार एक सय सात पशुमा कृत्रिम गर्भाधान गराएकामा एक हजार ४३ गाई, एक हजार ३२ भैँसी र ३२ बाख्रालाई कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ । कार्यालयमार्फत एक सय सात तथा अन्य गर्भाधान केन्द्रमार्फत दुई हजार पशुमा उक्त सेवा लागू गरेको थियो । प्रजननका लागि भाले पालिराख्नु नपर्ने, विदेशबाट आयातित तथा उच्च उत्पादन क्षमता भएका भालेको बीर्य प्रयोग ग्रामीणस्तरमा नै गर्न सकिने भएकाले कृत्रिम गर्भाधान सेवा प्रदान गर्न थालिएको केन्द्रका निमित्त प्रमुख न्यौपानेको भनाइ छ ।

गाउँगाउँमा उक्त सेवा पुगेसँगै कृषक थप उत्साहित भएका छन् । विगतमा परम्परागत रुपमा पशुमा गर्भाधारण गर्दै आएता पनि पछिल्लो समय ब्याड राँगा पाउन मुश्किल भएको र यो सेवा आइपुगेपछि गाई, भैँसी, बाख्रामा कृत्रिम गर्भाधान गर्न थालिएको जिल्लाका किसानको भनाइ छ । कृत्रिम गर्भाधानबाट जन्मेका बच्चालाई गर्भ नतुहिने, रोग नलाग्ने, जन्मेको बच्चा मर्ने सम्भावना कम हुनुका साथै त्यसबाट जन्मेका पशु बढी दूधालु हुने भएकाले पशु नश्ल सुधार कार्यक्रम प्रभावकारी बन्दै गएको कार्यालय निमित्त प्रमुख न्यौपानले बताए ।