८ भदौ, काठमाडौँ । पन्ध्र मिटर उचाइको वाल क्लाइम्बिङ प्रतिस्पर्धामा पुरुषतर्फ भीमबहादुर तामाङ र महिलातर्फ सपना ढुङ्गेल प्रथम भएका छन् ।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानद्वारा आज यहाँ आयोजित खुल्ला वाल क्लाइम्बिङ प्रतियोगिता शीर्ष डोरी संस्करणमा तामाङले ३६ मिनेट ६९ सेकेन्ड र ढुङ्गेलले ५५ मिनेट ३७ सेकेन्ड समयमा उचाइ चढ्दै प्रथम स्थान हासिल गरेका हुन्। धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानमा आयोजित प्रतियोगितामा पुरुषतर्फ ५७ र महिलातर्फ २३ जनाले सहभागिता जनाएका थिए । प्रतिष्ठानको स्पोर्टस कमिटीले आयोजना गरेको प्रतिस्पर्धामा छिरिङ राई द्वितीय, विजय श्रेष्ठ तृतीय, विशाल भट्ट चौथो र आशिष हेम्बाले पाँचौँ स्थान हासिल गरे । प्रथम स्थान हासिल गर्न सफल तामाङलाई नगद चार हजारसहित पुरस्कृत गरिएको छ ।
यस्तै, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने विजेतालाई क्रमशः तीन हजार, दुई हजार, एक हजार पाँच सय र एक हजार नगदसहित पुरस्कृत गरिएको हो । महिलातर्फ प्रथम ढुङ्गेललाई चार हजार नगदसहित पुरस्कृत गरिएको छ । यस्तै, जस्मिन कार्की द्वितीय, सरस्वती खडका तृतीय, निर्मला भट्ट चौथो र बिनु राई पाँचौँ स्थान हासिल गर्न सफल भए । उनीहरूलाई क्रमशः तीन हजार, दुई हजार, एक हजार पाँच सय र एक हजारसहित पुरस्कृत गरिएको थियो ।
प्रतियोगिताका इन्चार्ज सुस्मिता श्रेष्ठले पर्वतारोहण विषयमा स्नातक अध्ययनबारे थप जानकारी दिँदै अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई लक्षित गरिएको उनले जानकारी दिए ।
प्रतियोगिताको निर्णायक एवं प्रशिक्षक लाक्पा शेर्पाले उचाइसम्म पुग्न लाग्ने समय र प्वालमा समातेको स्कोरका आधारमा अंश प्राप्त हुने जानकारी दिए । नेपाल आरोहण खेल सङ्घका उपाध्यक्षसमेत रहेका शेर्पाले वाल क्लाइम्बिङ एवं चट्टान आरोहण खेल मनोरञ्जन र व्यवसायका रुपमा पनि सम्भावना बोकेको खेल भएको बताए । उनले भने, “नेपालको भौगोलिक अवस्थितिअनुसार यो महत्वपूर्ण सम्भावना बोकेको साहसिक खेल हो । ओलम्पिकमा समेत समावेश गरिएकाले यस खेललाई नयाँ युवापुस्तालाई साहसिक खेलमा सहभागी गराउँदै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउँछ ।”