९ भदौ, धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले शैक्षिक गुणस्तर विकासका लागि सिकाइ प्रणाली रूपान्तरण गर्न प्रदेशको शैक्षिक उद्यान बनाइने बताएका छन्।
जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालय ज्ञानकुपको आज अवलोकन तथा निरीक्षण गर्नुहुँदै मुख्यमन्त्री सिंहले बहुबुद्धिमत्ता, सामाजिक सिकाइ सिद्धान्त, गेमिफिकेसन र २१औँ शताब्दीको सीप प्रवद्र्धनका सिद्धान्तहरूमा आधारित शैक्षिक उद्यान मधेस प्रदेशका सन्दर्भमा नवीन र महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरे । उनले संस्कृत विद्यालयमा खुला शैक्षिक उद्यान सञ्चालन गर्ने विषयमा खाका तयार गर्न केही दिनमै प्राविधिक खटिनेसमेत जानकारी दिए ।
मुख्यमन्त्री सिंहले विज्ञहरूको परामर्श र आधुनिक शिक्षाका परिवेशलाई ध्यानमा राखेर खुल्ला शैक्षिक उद्यानको योजना निर्माण गरिएको र यसलाई पहिलो चरणमा मधेस प्रदेशका आठवटै जिल्लामा एक–एकवटा स्थापना गर्ने नीति लिएको बताए । खुला शैक्षिक उद्यान मधेसको कमजोर शैक्षिक अवस्था सुधार गर्न प्रयोगका रूपमा लिइएको र यसले विद्यार्थी तथा अभिभावकले नयाँ तरिकाले शैक्षिक ज्ञान तथा सीप सिक्ने उनले विश्वास व्यक्त गरे ।